बंगलादेशमा बैंक तथा एटीएमबाट पर्याप्त नगद निकाल्न सकिए पनि दैनिक कारोबारका लागि आवश्यक साना दरका नोटको अभाव हुँदा बजारमा समस्या बढेको छ। विशेषगरी १०, २० र १०० टाकाका नोटको अभावले खुद्रा व्यापार तथा उपभोक्ताको दैनिक कारोबार प्रभावित भएको छ।
ढाकाबाट प्रकाशित ढाका ट्रिब्युनका अनुसार बजारमा नयाँ तथा सफा नोटको आपूर्ति मागअनुसार हुन सकेको छैन। अर्कोतर्फ च्यातिएका, फोहोर, प्वाल परेका, टेप लगाइएका र जीर्ण नोटको संख्या बढ्दै गएको छ।
एटीएमबाट ठूलो रकम निकाल्दा समेत साना दरका नोट पर्याप्त नपाउने अवस्था देखिएको छ। कतिपय एटीएमले २० हजार टाका निकाल्दा १ हजार टाकाका नोट धेरै र ५०० टाकाका नोट थोरै दिने गरेका छन्। यसले ग्राहकको हातमा नगद भए पनि सामान खरिद गर्दा खुद्रा रकम मिलाउन समस्या हुने गरेको छ।
साना दरका नोटको अभावबाट व्यापारीहरू पनि प्रभावित छन्। १०, २० र १०० टाकाका नोट पर्याप्त नहुँदा सामान बिक्री गरेपछि ग्राहकलाई फिर्ता रकम दिन कठिन भइरहेको व्यापारीहरूको भनाइ छ। बैंकबाट समेत मागअनुसार साना दरका नोट पाउन नसक्दा खुद्रा रकम जुटाउनु उनीहरूका लागि थप चुनौती बनेको छ।
पुराना नोटको अवस्थाले समस्या झन् जटिल बनाएको छ। ५०० र १ हजार टाकाका नोटमा स्टेपलरका प्वाल, टेप लगाइएका भाग, च्यातिएका किनारा तथा अत्यधिक फोहोर देखिन थालेका छन्। यस्ता नोट पसलेले अस्वीकार गर्ने गरेका छन्। मेट्रो रेलका टिकट मेसिन तथा बैंकका नगद जम्मा गर्ने मेसिनले समेत जीर्ण नोट स्वीकार नगर्ने अवस्था रहेको समाचारमा उल्लेख छ।
नयाँ नोट छाप्ने खर्च दोब्बरनजिक
बंगलादेशमा नयाँ नोटको आपूर्ति बढाउन खोज्दा त्यसको लागत पनि चुनौती बनेको छ। बंगलादेश बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२५/२६ मा नयाँ नोट छाप्न ४५८ करोड ९२ लाख टाका खर्च भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च २३४ करोड ७८ लाख टाका थियो। एक वर्षमा नोट छपाइको खर्च करिब ९५ प्रतिशत बढेको हो।
२०२४ अगस्ट ५ पछि शेख मुजिबुर रहमानको तस्वीर भएका पुराना डिजाइनका नोटको छपाइ तथा वितरण रोकिएपछि नयाँ डिजाइनका नोट तयार गर्ने प्रक्रियामा ढिलाइ भएको बताइएको छ। त्यसको प्रभाव बजारमा नयाँ नोटको आपूर्तिमा परेको बंगलादेश बैंकका स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
बंगलादेश बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता आरिफ हुसेन खानका अनुसार १०, ५०० र १ हजार टाकाका नयाँ नोट बजारमा पठाइएको छ। २० र ५० टाकाका नोट उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा भने समस्या रहेको उनले बताएका छन्।
डिजिटल कारोबारलाई विकल्पका रूपमा हेरिँदै
नोटको अभावबीच बंगलादेश बैंकले विद्युतीय भुक्तानी प्रणाली विस्तारलाई दीर्घकालीन विकल्पका रूपमा अघि सारेको छ। ‘बांग्ला क्यूआर’ लगायतका डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउँदा भौतिक नगदमा निर्भरता घटाउन सकिने बैंकको भनाइ छ।
तर दैनिक किनमेल, साना पसल र खुद्रा कारोबारमा नगदको प्रयोग अझै व्यापक रहेकाले डिजिटल भुक्तानीको विस्तारले तत्कालै खुद्रा नोटको अभाव समाधान गर्ने अवस्था देखिँदैन।
बंगलादेशको पछिल्लो अवस्थाले बैंकिङ प्रणालीमा पर्याप्त नगद हुनु मात्र पर्याप्त नहुने देखाएको छ। अर्थतन्त्रको दैनिक कारोबार सहज बनाउन आवश्यक दर र गुणस्तरका नोटको उपलब्धता पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
प्रकाशित: १६ आश्विन २०८३ १७:४५ शुक्रबार

