१७ आश्विन २०८३ शनिबार
image/svg+xml
कर्पोरेट

ग्लोबल आईएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई १० प्रतिशत लाभांश पारित

ग्लोबल आईएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनी महानुभावहरूको अटुट विश्वास र निरन्तर साथप्रति हार्दिक आभार व्यक्त गरे। उनले ग्राहकवर्ग, सेयरधनी, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूको साथ र सहयोगकै कारण बैंकले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए। नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले दोहोर्‍याए।  

साथै, ग्राहकहरूलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी र विस्तार गरिने जानकारी पनि उनले दिए।  

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

साधारणसभामा नियामक निकायका प्रतिनिधि, सेयरधनी तथा संस्थागत लगानीकर्ताहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएमईए नेपाल २०२४ तथा बेस्ट एम्प्लोयरजस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ।

ग्लोबल आईएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

साथै, यो बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थामध्ये एकका रूपमा स्थापित छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

यसैगरी, हालैको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूलाई तत्काल राहत र उद्धारका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा बैंकका कर्मचारीहरूको एक दिनको तलब बराबरको रकमसहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

प्रकाशित: १६ आश्विन २०८३ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App