नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २००७ सालमा स्थापना भएको प्रजातन्त्रले अपेक्षित थिती बसाउन नसकेको बताएका छन्।
पार्टीको प्रश्नउत्तर कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थाले स्थायित्व, सुशासन र विकासको गति दिन नसक्दा युवाहरू सडकमा आउनुपरेको बताए।
‘२००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्रलाई युवाहरूले अस्वीकार गरेका होइनन्, तर प्रजातन्त्रले जस्तो थिती बसाउनुपर्ने थियो, त्यस्तो थिती बसाउन सकेन। देश विकासको जुन गति हुनुपर्ने थियो त्यो भएन, नेतृत्वले जुन मति राखेर काम गर्नुपर्थ्यो त्यो पनि देखिएन,’ उनले भने।
थापाले भदौ २३ गतेको जेन-जी आन्दोलनमा युवाहरूले थिती, गति र मति सहितको परिवर्तन खोजेको बताए।
‘हामीले ती नौजवानलाई बुझ्ने प्रयास गरेका छौं। अब उनीहरूको आवाज सुनेर मात्र पुग्दैन, त्यही अनुसार परिवर्तन गर्न सके मात्र गौरव गर्न सक्छौं,’ उनले भने।
उनले २०४६ साल र २०६२/६३ को आन्दोलनप्रति नेपाली कांग्रेसले सधैं गौरव गर्ने गरेको बताउँदै अहिलेको चुनौती नयाँ पुस्ताको अपेक्षाअनुसार परिणाम दिनुपर्नेमा जोड दिए।
प्रकाशित: ७ फाल्गुन २०८२ १४:३० बिहीबार





