नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भदौ २३ र २४ गतेको घटनामा छानबिन गर्न आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे संसद्ले पनि जानकारी पाउनुपर्ने बताउँदै उनले भने,‘२४ गते करिब १२ घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुहुरा बनेका थिए। यस्तो कहिल्यै नदोहोरियोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्छ, जनता त्यो चाहन्छन्।’
यस्तै, उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले बनाएको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक नभएको बताए। उनले भने,‘ यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्क्याउने र छलकपट गर्ने काम नहोस्। तुरुन्त सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही होस्।’
प्रकाशित: ४ जेष्ठ २०८३ १२:३५ सोमबार





