२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

संसद्‍मा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनिवार्य उपस्थित हुनुपर्ने माग गरेका छन् ।  

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले विगतमा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको अवस्थामा आफूहरूले विरोध, बहिष्कार र कालो पट्टी बाँधेर असन्तुष्टि जनाएको स्मरण गराउदै प्रधानमन्त्रीको उपस्थितिको माग गरे ।  

शाहीले नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै संसद्बाटै उत्तरदायित्व खोजिनुपर्ने धारणा राखे। ‘जनताको सरकार हो भने संसद्बाटै उत्तरदायित्व खोज्ने हो, रत्नपार्कबाट होइन,’ उनले भने।

उनले संसारको कुनै पनि लोकतान्त्रिक अभ्यासमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित रहने परम्परा नरहेको दाबी गरे।

प्रधानमन्त्री शाह कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेको उल्लेख गर्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई संसद्मा बोलाउन सभामुख डीपी अर्यालसँग माग गरे। ‘आफैंले ल्याएको नीति तथा कार्यक्रम सुन्न नसक्ने कुरा हुँदै हुँदैन,’ शाहीले भने।

प्रकाशित: ३० वैशाख २०८३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App