दलित जेन-जी युनाइटेडले वर्तमान सरकारले न्याय र समानताको लागि खगेन्द्र सुनारलाई मात्रै देख्नु दुखद् भएको बताएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ६० लाख दलित भएको देशमा फौजदारी अभियोग लागेका सुनारलाई मन्त्री प्रस्तावित गर्ने विषयले दलितलाई अपमानित गर्ने प्रपञ्च भएको आरोप लगाएको छ ।
दलित युनाइटेड जेन-जीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेन-जी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् ।
हालै अभियन्ता खगेन्द्र सुनारको नाम मन्त्रीको लागि प्रस्ताव गरेको तर पछि अभियोग लागेको बहानामा रोक्ने विषय षड्यन्त्र भएको बताउँदै परियाले भने,‘खगेन्द्र जीलाई अभियोग लागेको कारण रोकिन्छ भने, के यो देशमा अरु दलित छैनन् र ? हामी भन्छौं अरु पनि छन् ।’
सामाजिक अभियन्ता विवेक थापाले झण्डै दुई महिना पुग्दासमेत वर्तमान सरकारले जेन-जी मर्मलाई आत्मसाथ नगर्नु दुःखत विषय भएको बताए ।
थापाले भ्रष्टाचार र कुशासनविरुद्ध कुनै पनि कदम नचालिएकोप्रति अक्रोश व्यक्त गर्दै भने,‘तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडीयो छविलाल रिजाललाई नपक्रनु भनेको पुरानै पार्टीको इसारामा चलेको पुष्टि हुन्छ ।’
जेन-जी युनाइटेडका गणेश थापाले खगेन्द्र सुनार मन्त्री नहुने भएपछि अरु तमाम दलित युवाहरुलाई यो सरकारमा सहभागि गाराउनु पर्ने माग राखे ।
जेन-जी युनाइटेडका रामसुन्दर सुनामले देशमा दलितमाथि अब पनि अपमान चलिरहने हो भने आन्दोलनको सुनामी ल्याउने चेतावनी दिए ।
युनाइटेडकी ज्योती थापाले दलित हकहितको लागि एक जना भएपनि सहभागिता र न्यायको ज्योती बाल्न सरकारमा अनिवार्य दलित प्रतिनिधित्व हुनुपर्ने माग गरिन् ।
जेन-जी उमेश रम्तेलले १० वर्षे जनयुद्धदेखि जेन-जी आन्दोलनसम्म पनि दलित समुदायलाई कागजमा मात्रै अधिकार सिमित गराएकोप्रति रोश व्यक्त गरे ।
युनाईटेडका प्रकाश परियार, विष्णु रम्तेल र शंकर सुनारले दलितहरुको हक–अधिकारका लागि सम्पूर्ण जेन-जी एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
प्रकाशित: १६ कार्तिक २०८२ १७:३१ आइतबार





