नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशभर आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नर्सहरूको सम्मान, सुरक्षा र पेशागत अधिकार सुनिश्चित नभई नेपालको जनस्वास्थ्य प्रणाली बलियो बन्न नसक्नेमा जोड दिए।
संयोजक दाहालले देशभरका करिब डेढ लाख नर्सहरूले तोकिएको तलबभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, कर्मचारी अभावले सिर्जित कार्यबोझ, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव र कार्यस्थलमा असुरक्षा जस्ता गम्भीर समस्या भोगिरहेको उल्लेख गरेका छन्।
उनले यिनै समस्याका कारण नर्सहरू तीव्र रूपमा विदेश पलायन भइरहेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए।
उनले लेखेका छन्, ‘नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछु।’
विभिन्न पेशागत माग राख्दै नर्सिङ संघ तथा विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरू पछिल्लो समय चरणबद्ध आन्दोलनमा छन्।
उनीहरूले आफ्नो अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन्।
प्रकाशित: १२ कार्तिक २०८२ १५:५६ बुधबार





