१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मित्र र दुस्मन छुट्याउन जेन-जीलाई दाहालको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गरेका छन्।

शनिबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहाललेले जेन-जी युवाहरुलाई भने ‘तपाईहरु आफ्नो मित्र दुस्मन को हो छुट्टयाउनु होला। हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो।’

जनताको हक, हित र अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक दाहालले भने ‘एउटा विचारले भन्छ- तपाईंहरुको आन्दोलनलाई आतंककारी। यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईहरुलाई पनि त्यस्तै शब्दमा ब्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।’

उनले थप भने, ‘क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु। जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ, उसलाई चिन्न सक्नु पर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।’

देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए।

संयोजक दाहालले भने, ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं। संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी निर्वाचन हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ।’

संयोजक दाहालले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए।

‘निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,’ उनले भने।

प्रकाशित: १ कार्तिक २०८२ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App