नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षमा हुँदा पनि आफूले नै देश धानिरहेको लाग्ने गरेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले आफूले नथाम्दा देश गर्ल्यामगुर्लुम ढल्छ कि भन्ने चिन्ता लाग्ने बताएका हुन्।
‘मेरो साहित्य तिर साह्रै धेरै रुचि थियो। मलाई अध्ययन गर्न नि मन लाग्छ, लेख्न नि मन लाग्छ,’ अध्यक्ष दाहालले भने, ‘तर दिनदिनैको राजनीतिक चटारोले मलाई समय नै निक्लिदैन्। र मलाई खेद छ, मलाई दुःख छ, मैले यो क्षेत्रमा समय नदिएकामा ।’
आफ्नो राजनीतिक सक्रियता प्रतिपक्षमा हुँदा पनि घटाउन नसकिने अवस्थामा रहेको दाहालले दाबी गरे। उनले भने, ‘अहिले हुन त म सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्षी दलको नेता छु। तर, यस्तो लाग्छ–देशको राजनीतिको खाँबो मैले छोड्दिने हो भने भत्किहाल्छ कि जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ र पूरै जिम्मा मेरै काँधमा भा जस्तो।’
आफ्नो जीवन निश्चित समयसम्मका लागि मात्रै भए पनि आफूलाई देशको चिन्ता धेरै रहेको दाहालले बयान दिए। ‘कहिलेकाहीँ सोच्छु–यस्तो हुँदैन जीवन त। मान्छे एउटा निश्चित समयसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियम बमोजिम शाश्वत कुरा मरिन्छ, अर्कोले लान्छ गाडी,’ उनले भने।
तर जिम्मेवारी बोध भन्ने कुरा आफ्नो अन्तिम अवस्था नहुँदासम्म बोध भइरहने अवस्था आफूले पाएको उनले बताए।
प्रकाशित: ४ भाद्र २०८२ १७:३० बुधबार





