१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

दाहालले श्रीलंकामा प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले श्रीलंकाको कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन्।

इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक दाहालले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती तथा त्यसबाट सिकिएका महत्वपूर्ण पाठबारे विश्लेषण गरेका थिए।

उनले बदलिँदो विश्व शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा असंलग्नताको नीति र समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै त्यसको राजनीतिक रूपरेखा प्रस्तुत गरे।

सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा.दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमका कडा सर्तबीच जनपक्षीय विकासको वैकल्पिक मार्ग निर्माणबारे आफ्नो धारणा राखे।  

त्यस्तै, विश्वप्रसिद्ध मार्क्सवादी लेखक तथा इतिहासकार विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा श्रीलंकामा रहेका दाहालले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यसैबीच सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग समेत भेटवार्ता गरेका छन्।  

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ।

प्रकाशित: १ श्रावण २०८३ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App