१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

दाहालको दाबी: विद्याजी एमालेमा फर्किने कुरा चीन गएपछि बिग्रियो !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेमा फर्किने कुरा चीन गएपछि बिग्रिएको दाबी गरेका छन्। बिहीबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्। 

‘विद्याजी अहिले सक्रिय राजनीतिमा आउनु चाहनुभएको छ। सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजीकै सहमतिमा नवीकरण भएको हो भन्ने कुरा अब त छर्लङ्ग भएको छ,’ दाहालले भने, ‘चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरूका बिचमा पहिला चलेको हो।’ तर पूर्व राष्ट्रपति भण्डारी चीनबाट फर्किएपछि के भयो त्यतातिर आफू जान नचाहेको उनले बताए। 

‘तर पछि चीन भ्रमणमा गएर आएपछि सायद के के भयो उहाँहरूको म त्यता जान चाहन्न अहिले’, दाहालले भने। 

पूर्व राष्ट्रपति भण्डारी एमालेका नेताहरू बोकेर गत जेठ १० गते चीन गएकी थिइन्। त्यहाँ पूर्व राष्ट्रपतिको हैसियतभन्दा एमाले नेताको हैसियतले कार्यक्रममा सहभागी भएको बताइन्छ। त्यहाँबाट जेठ १९ गते स्वदेश फर्किएकी थिइन्।

विद्यालाई नेपालका कम्युनिस्ट एक ठाउँमा ल्याउने चिनियाँ प्रयास स्वरूप राजनीतिमा फर्काउने कोसिस भइरहेको चर्चा पनि छ। उनलाई राजनीतिमा फर्काउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूको पनि जोड बल रहेको बताइन्छ। 

प्रकाशित: १२ भाद्र २०८२ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App