३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रविलाई भेटेपछि दाहाल: ‘कांग्रेस-एमालेले आफ्नै खुट्टामा बन्चरो हाने’

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेका छन्।

बुधबार साँझ भएको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले लामिछानेमाथि सरकार र सत्ता गठबन्धनले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन्।

‘मैले भर्खरै यहाँ नख्खु कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरेँ,’ दाहालले भने, ‘मेरो क्याबिनेटमा दुईचोटिको गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हैसियतले पनि मैले उहाँको स्थिति के छ भनेर बुझ्नु स्वाभाविकै थियो।’

दाहलले लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको र समान प्रकृतिका मुद्दामा अरूले उन्मुक्ति पाउँदा आफूलाई मात्रै लखेटिएको गुनासो गरेको बताए। ‘उहाँको लजिक वास्तवमा सबैले विचार गर्नैपर्ने खालको छ,’ दाहालले भने।

लामिछानेले भैरहवाको जेल बसाइ निकै कष्टकर रहेको र आफूलाई ‘गोलघर’ मा जस्तै गरी राखिएको अनुभव सुनाएको दाहालले जानकारी दिए।

‘भैरहवामा हुँदा उहाँको स्थिति अलि धेरै नै जटिल, उहाँको भाषामा भन्नुपर्दा झन्डै-झन्डै गोलघर जस्तै गरिराखियो। धेरै ठूलो पीडामा भएँ भन्ने थियो,’ उनले भने। काठमाडौं आएपछि भने बसाइ, खानपिन र व्यवस्थापन राम्रो भएकोमा लामिछानेले प्रशंसा गरेको दाहालले सुनाए।

उनले सत्ता गठबन्धन (कांग्रेस-एमाले) ले लामिछाने र उनको पार्टीमाथि गरेको व्यवहारले रास्वपालाई नै राजनीतिक फाइदा पुगेको विश्लेषण सुनाए।

‘कांग्रेस-एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिया छ, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ,’ दाहालले भने, ‘यो कांग्रेस-एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् ? आत्मघाती काम किन गरेका होलान् भन्ने नै उहाँलाई लागेको कुरा रहेछ।’

प्रकाशित: ४ भाद्र २०८२ १८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App