एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) तीन वर्षपछि विभाजनको संघारमा पुगेको छ। चालु केन्द्रीय कमिटीको बैठकमा केही नेताहरूले अध्यक्ष माधवकुमार नेपालको चाहनाले मात्रै माओवादी केन्द्रसँग एकता हुन नसक्ने धारणा राखेपछि पार्टीमा विग्रह हुने संकेत देखिएको हो।
नेकपा एसमा माधव नेपाल पक्षधर केन्द्रीय सदस्य माओवादी केन्द्रसँग एकता गर्नुपर्ने र महासचिव घनश्याम भुसाललगायत नेताहरु पार्टीलाई सुदृढ बनाएर अघि जानुपर्ने पक्षमा छन् । पार्टीका केन्द्रीय नेताहरू विभाजित हुँदा तल्लो तहका नेता–कार्यकर्ता अन्योलमा परेका छन् । वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग पार्टी एकता नहुने बताएका छन्। केन्द्रीय कमिटीको बैठकबाट बिहीबार बाहिरिँदै गर्दा खनालले ‘पार्टी एकता गर्नेले गर्छन् नगर्नेले गर्दैनन्’ भनेका छन्।
पार्टी अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने प्रस्ताव राखेका छन्। अध्यक्षको यस्तो प्रस्तावले वरिष्ठ नेता खनाल, महासचिव भुसाललगायत एमालेमै फर्किने कि नेकपा एसलाई नै पुनर्गठन गरेर अघि बढ्ने भन्ने दोधारमा छन्। नेकपा एसका एक नेताका अनुसार भने खनालकै नेतृत्वमा पार्टी पुनर्गठन हुन्छ। ‘वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा पार्टी पुनर्गठन हुनेछ, माधव नेपालको समूह मात्रै माओवादी केन्द्रमा विलय हुनेछ’, ती नेताले भने। नेत्री रामकुमारी झाँक्री पनि पार्टी पुनगर्ठन पक्षमा छन्।
महासचिव भुसाल पार्टी पुनर्गठनको पक्षमा छन्। किसान श्रेष्ठ, भानुभक्त जोशी, प्रेम आले, धनबहादुर बुढासहितका नेता एमालेमै फर्किन चाहेको स्रोतको दाबी छ। भुसालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने हो भने पनि पुष्पकमल दाहाल र नेपाल दुवैले नेतृत्व छाड्नुपर्ने सर्त राखेका छन्। उनले बिहीबारको बैठकमा माओवादी केन्द्र पनि फुट्न लागेको भन्दै यस्तो अवस्थामा एकता गर्न नहुने बताएका थिए। ‘माओवादीका नेताहरुसँग म पनि सम्पर्कमै छु, त्यही पार्टीको अवस्था गतिलो छैन’, भुसालले भनेका थिए।
बैठकमा नेपालले आफू एमालेमा नफर्किने स्पष्ट पारेका छन्। माओवादीसँग पार्टी एकीकरणको निर्णय गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि आफूहरुलाई अपमान गरिरहेका कारण त्यो पार्टीमा फर्किनेलाई ‘राम राम’ मात्रै भन्न सकिने बताएको जानकारी एक नेताले दिए।
अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमै माओवादीसँग मिल्न लागेको संकेत गरेका छन्। ‘‘वामपन्थी शक्तिहरूबिच सहकार्यको हाम्रो घोषित नीतिअनुसार नै हामीले समाजवादी मोर्चा निर्माण गरेका हौं र त्यसमा संलग्न रहेर काम गर्दै आएका हौं। समाजवादी मोर्चामार्फत गरिएका काम पर्याप्त नहुन सक्छन् तर यसले कतिपय अत्यन्त महत्त्वपूर्ण काम गरेको छ। उदाहरणका लागि २०८१ चैत १५ गते भृकुटीमण्डपमा आयोजित प्रतिगमन विरोधी जनप्रदर्शनलाई लिन सकिन्छ। तसर्थ यस प्रकारको मोर्चाको महत्त्व छ भन्ने कुरा बिर्सनु हुँदैन। वाम एकताको सम्बन्धमा पनि हामीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिस्टहरू, खासगरी समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका कम्युनिस्ट घटकहरूबिच एकता हुनुपर्ने कुरामा जोड दिँदै आएका छौं’, उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्।
उनले समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्ति अवश्यक भएको उल्लेख गर्दै वामपन्थी शक्तिहरूबिच एकताको वातावरण बनाउने गरी राजनीतिक प्रतिवेदन पेस गरेका हुन्। नेपाल पक्षले ९९ प्रतिशत नेता माओवादीसँग एकता गर्ने पक्षमा रहेको दाबी गर्दै आएको छ। नेपालको राजनीतिक प्रतिवेदन पनि त्यहीअनुसार आएको हो।
‘बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबिचको एकताबाट नै हुन सक्छ तर स्पष्ट आधार निर्माण नभईकन पार्टी एकता हुन सक्दैन। पार्टी एकता हुनका लागि सबैभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्छ’, नेपालको प्रतिवेदनमा उल्लेख छ।
बैठकमा नेत्री झाँक्रीले माओवादी केन्द्रसँग पार्टी एकीकरणकै लागि केन्द्रीय सदस्यहरु थप गरिएको हो भन्ने प्रश्न गरेकी थिइन्। महासचिव भुसालले पनि बिहीबारको बैठकमा माओवादीसँग एकता प्रस्तावको खुलेर विरोध गरे। भुसाललाई खनाललगायतले साथ दिएपछि नेकपा एस विभाजनमा हुने संकेत देखापरेको एक नेताले बताए।
प्रकाशित: १४ कार्तिक २०८२ ०६:२० शुक्रबार





