मुलुकको राजनीति यतिबेला इतिहासकै सर्वाधिक पेचिलो मोडमा छ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
दशकौंदेखि राज्यसत्ताको बागडोर सम्हालिरहेका शीर्ष दलका शीर्ष नेताहरू र राजनीतिको मूलधारमा उदाउँदै गरेका वैकल्पिक शक्तिहरूबीचको यो आसन्न प्रतिस्पर्धा सामान्य चुनाव मात्र नभएर एक महासंग्राम बन्ने निश्चितप्रायः देखिन्छ।
रोचक राजनीतिक परिदृश्य के छ भने पुराना शक्तिहरू आफ्नो अस्तित्व रक्षाका लागि अघोषित कार्यगत एकता वा रणनीतिक मोर्चाबन्दीको प्रयासमा जुटिरहँदा, नयाँ भनिएका शक्तिहरू भने एक/अर्काविरुद्ध नै मैदानमा उत्रिने तयारीमा छन्।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको पार्टीले देशैभर आफ्ना उम्मेदवार खडा गर्ने घोषणा गरिसकेको छ भने उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाहबाट अगल भएको कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले पनि बेग्लै र एकलौटी रूपमा चुनावी मैदानमा होमिने उद्घोष गर्दै आएको छ।
यस्तो पेचिलो परिस्थितिमा प्रमुख दलका शीर्ष नेताहरूको मनोविज्ञान पनि फरक-फरक ध्रुवमा बाँडिएको छ। नेपाली कांग्रेसभित्रको ऐतिहासिक विग्रह र विभाजनले सभापति शेरबहादुर देउवालाई चैनको निद्रा पर्न दिएको छैन।
यता, नेकपा एमालेको अभेद्य किल्ला मानिने झापा-५ मा बालेन शाहको सम्भावित प्रवेश र त्यसले ल्याउन सक्ने राजनीतिक सुनामीको त्रासमा अध्यक्ष केपी शर्मा ओली बेचैन देखिन्छन्।
तर, पुराना दलहरूको यो रस्साकस्सी र नयाँको आक्रामक उपस्थितिका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भने ‘कम्फर्ट जोन’ मा छन्।
देउवाको छटपटी: इतिहासको पुनरावृत्ति र वैधानिकताको सङ्कट
नेपालको लोकतान्त्रिक आन्दोलनको मियो मानिने नेपाली कांग्रेसको वर्तमान हविगत इतिहासकै सर्वाधिक दयनीय अवस्थामा पुगेको छ। २००३ सालमा बीपी कोइरालाको आह्वानबाट सुरु भएको यो गौरवशाली पार्टी आज आठ दशकपछि तेस्रो र सम्भवतः सबैभन्दा घातक विभाजनको भुमरीमा फसेको छ। र, यसको केन्द्रविन्दुमा छन्, शेरबहादुर देउवा।
देउवाको तनावको मुख्य कारण महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चालेको अस्वाभाविक कदम हो। पार्टी रूपान्तरणको मुद्दालाई संस्थापन पक्षले निरन्तर बेवास्ता गरेको निष्कर्षसहित यी युवा नेताहरूले विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनमार्फत धावा बोलेका छन्। भृकुटीमण्डपको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेसँगै कांग्रेस व्यावहारिक रूपमा दुई चिरामा विभक्त भइसकेको छ।
देउवाका लागि यो नियति नयाँ होइन, तर भूमिका बदलिएको छ। २०५९ सालमा संकटकालको विषयलाई लिएर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाविद्ध विद्रोह गर्दै कांग्रेस प्रजातान्त्रिक गठन गरेका देउवा, आज आफैँ संस्थापनको कुर्सीमा बसेर ‘विद्रोही’ हरूको निसानामा परेका छन्। नियतिको यो चक्रले देउवालाई इतिहासको कठघरामा उभ्याएको छ।
महामन्त्रीद्वय र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि देउवा पक्षले गरेको कारबाहीमाथि पनि संशय राख्नेहरू पनि छन्। किनकि, विवाद अब पार्टी कार्यालय सानेपाबाट सरेर निर्वाचन आयोग पुगिसकेको छ।
निर्वाचनको मुखमा ‘रुख’ चिह्न र पार्टीको झन्डा कसको हातमा पर्ला भन्ने अनिश्चयले देउवालाई हतास बनाएको हुनसक्छ। यदि आयोगले विशेष महाधिवेशनको निर्णयलाई सदर गर्यो भने, पाँच दशक लामो देउवाको राजनीतिक विरासत बालुवाको घरझैँ ढल्नेछ।
डा. शेखर कोइराला, मीनेन्द्र रिजाल लगायतका मध्यमार्गी नेताहरूको दौडधूप निरर्थक हुनु र विद्रोही पक्षले देउवाको बहिर्गमनलाई नै बटमलाइन बनाउनुले देउवालाई राजनीतिक चक्रव्यूहमा फसाएको छ।
ओलीको बेचैनी: झापा–५ मा ‘बालेन फ्याक्टर’
उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तनावको रसायन अलि फरक छ। उनको बेचैनी पार्टीभित्रको विग्रहभन्दा बढी बाह्य घेराबन्दी र अप्रत्याशित चुनावी चुनौतीसँग जोडिएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर-५ एमाले र ओलीको अभेद्य किल्ला हो। आज त्यही किल्लाको जग हल्लिने खतरा पैदा भएको छ। २०४८ सालयता (२०६४ बाहेक) एकछत्र राज गरेका ओलीका लागि यसपटकको चुनौती कुनै परम्परागत प्रतिस्पर्धी होइनन्, बरु जेन-जीको भावना बोकेका काठमाडौंका मेयर बालेन शाह हुन्।
बिहीबार ४२ औं पिस्कर सहिद स्मृति दिवसको कार्यक्रमपछि ओलीले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ‘रवि बाठा रैछन्, बालेन सोझा परेछन्’ भनी अभिव्यक्ति दिएका थिए।
महान्यायाधिवक्ता कार्यालयले हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी र संगठित अपराधको कसुर फिर्ला लने निर्णय गर्नु र बालेन शाह झापा–५ मा ओलीविरुद्ध उत्रने चर्चा चल्नु। यी दुई घटनालाई ओलीले संयोग मात्र मानेका छैनन्।
उनले यसलाई एउटा ग्रान्ड डिजाइनको रूपमा बुझेका छन्। ओलीको विश्लेषण अनुसार रवि लामिछानेले सत्तासँगको सौदाबाजीमा आफूलाई कानुनी रूपमा सुरक्षित गरेका हुन्। र आफ्नो राजनीतिक मार्गलाई जोखिममुक्त बनाएका छन्। तर, बालेनलाई भने ओलीको बलियो गढमा लडाएर ‘बलिको बोका’ बनाउन खोजिएको उनको तर्क छ।
तर, ओली जतिसुकै ‘रिल्याक्स’ देखिन खोजे पनि भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले सिर्जना गरेको त्रास उनको मानसपटलमा ताजै छ। प्रधानमन्त्री रहँदा नै बालुवाटार घेराउ गर्न आएको भीडबाट बच्न हेलिकोप्टरको सहारा लिनुपरेको घटनाले ओलीको ‘स्ट्रङ म्यान’ को छविमा धक्का लागिसकेको छ।
अहिले सामाजिक सञ्जालमा ‘नो ओली, वन्ली बालेन’ अभियान नै चलाइएको छ। यदि बालेन झापा–५ मा उत्रिए भने, जित–हार आफ्नो ठाउँमा होला, तर ओलीले आफ्नो ‘होम ग्राउन्ड’ मै अपमानजनक नाराबाजी र कडा टक्करको सामना गर्नुपर्ने निश्चित छ। यो परिदृश्य नै ओलीको तनावको मुख्य कारण बनेको छ।
प्रचण्डको ‘चिल’ मुड: सुरक्षित अवतरणको रणनीति
देउवा र ओली अस्तित्वको लडाइँमा रक्ताम्मे हुँदा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भने पानीमाथिको ओभानो देखिएका छन्। उनको यो आत्मविश्वासका पछाडि ठोस रणनीतिक कारणहरू छन्।
पहिलो, सुरक्षित भूगोल। चितवन र गोरखाको अस्थिरताबाट पाठ सिक्दै प्रचण्डले यसपटक आफ्नो उद्गम थलो रुकुम रोज्ने संकेत गरेका छन्। रुकुम माओवादीको यस्तो आधार इलाका हो, जहाँ संगठनको जालो अभेद्य छ। त्यहाँ उनलाई न बालेनको डर छ, न त कांग्रेस–एमालेको। ‘सेफ ल्यान्डिङ’ सुनिश्चित भएपछि नेतामा देखिने आत्मविश्वास प्रचण्डमा झल्किएको छ।
दोस्रो, चतुर ध्रुवीकरण। माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ब्यानरमा प्रचण्डले साना वाम र पहिचानवादी शक्तिलाई गोलबन्द गर्ने अभियान छेडेका छन्।
बुधबार मात्रै सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसँगको एकीकरण यसैको कडी हो। हालसम्म उनले स-साना २० बिचारमिल्ने शक्तिहरुलाई आफूसँग समाहित गराइसेका छन्।
प्रचण्डको क्याल्कुलेसन सीधा छ। कांग्रेस र एमाले जति कमजोर र विभाजित हुन्छन्, माओवादीको ‘बार्गेनिङ पावर’ उति नै बढ्छ। उनी अहिले कसैलाई चिढ्याउने पक्षमा छैनन्, बरु चुपचाप शक्ति सञ्चय गरेर निर्वाचनपछिको ‘किङमेकर’ बन्ने दाउमा छन्।
एकातिर कांग्रेसको ऐतिहासिक विरासत धर्मराएको छ भने अर्कोतिर एमालेको संगठनात्मक दम्भमाथि जेन-जीको संजाल हमला सुरु भएको छ।
देउवा र ओली, दशकौंदेखि नेपाली राजनीतिका मियो थिए। आज आफ्नै अस्तित्व रक्षाका लागि छटपटाइरहेका छन्। उता, प्रचण्ड भने यो अस्थिरताको आगोमा आफ्नो राजनीतिक रोटी सेक्न तल्लीन छन्।
रवि लामिछानेको कानुनी अड्चन खुकुलो हुने र बालेन शाहको सम्भावित झापा यात्राले निर्वाचनको समीकरणलाई अप्रत्याशित बनाइदिएको छ।
मतदाता, विशेष गरी युवा पुस्ता, अब परम्परागत निष्ठाबाट माथि उठेर डेलिभरी र विद्रोहको पक्षमा उभिएको देखिन्छ। ओलीको फेसबुक वालमा ‘नो ओली’ र हर्क साम्पाङको वालमा ‘नो हर्क’ ट्रेन्ड नै चलाइएको छ।
अबको डेढ महिना नेपाली राजनीतिका लागि निकै सकसपूर्ण हुनेछ। के देउवाले कांग्रेस जोगाउन सक्लान् ? के ओलीले झापाको किल्ला र आफ्नो साख बचाउन सक्लान् ? अनि के प्रचण्डको ‘चिल’ मुड निर्वाचन परिणामसम्म टिकिराख्ला ?
यी प्रश्नहरूको उत्तर भविष्यको गर्भमा छ। तर, एउटा सत्य के हो भने- नेपालको राजनीति अब हिजोको जस्तो लिगमा हिँड्ने छैन।
प्रकाशित: २ माघ २०८२ २०:४५ बिहीबार




