राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले राष्ट्रिय एकताको प्रतीकमा एकाग्र भएर सबै नेपाली र विशेष गरेर नवयुवा पुस्ताको हितमा सार्थक प्रतिफल नववर्ष २०८३ मा प्राप्त गर्नुपर्ने भन्दै शुभकामना दिएका छन्।
नयाँ वर्षको अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रवादी नेता राणाले भने, ‘पृथ्वीपथको जगमा र स्वदेश नै स्वर्ग भन्ने आदर्शअनुकूल नयाँ वर्ष राष्ट्रिय एकता, आर्थिक विकास र नवप्रवर्तनको कोशेढुंगा बनोस् भन्ने कामना गर्दछु।’
राणाले भने, ‘निर्वाचन २०८२ पछिका दिनहरूमा जनस्तरमा नयाँ आशा पलाएको छ। सरकारको तर्फबाट आशाप्रद केही प्रयासहरू अघि बढेका छन्। निश्चित रूपमा सामाजिक रोगको रूपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नैपर्ने बाध्यता छ। रोजगारको सिर्जना, महंगी र वैदेशिक ऋणभारको बढ्दो चुनौती कायमै छ।’
राजनीतिक क्षितिजमा देखिएका आशाको किरणका बाबजुद राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिको क्षेत्रमा धेरै काम हुन बाँकी नै रहेको उनको भनाइ छ।
नववर्ष २०८३ को अवसरमा देशविदेश रहने सबै नेपालीजनलाई शुभकामना दिँदै राणाले देश र समाजमा शान्ति, स्थायित्व र समृद्धी कायम होस्, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित होस् भन्ने कामना गरेका छन्।
प्रकाशित: १ वैशाख २०८३ १२:५२ मंगलबार





