प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ मा यस्तो प्रावधान राखिएको छ। विधेयकको दफा १८ (२) (क), (ख)र (ग) मा निजामती सेवाको लागि ‘बहुविवाह’ गर्ने व्यक्ति, सरकारी सेवाबाट बर्खास्त गरिएको व्यक्ति र पीआर वा ग्रीन कार्ड लिएका व्यक्ति योग्य नहुने उल्लेख गरिएको छ।
दफा १८ (२) (क) मा भनिएको छ,‘भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राष्ट्रहित विरुद्धको कसुर, लागू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, बहुविवाह, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति योग्य हुने छैनन्।’
यस्तै, विधेयकअनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त गरिएको वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति अयोग्य ठहरिने उल्लेख गरिएको छ।
यस्तै, संघीय निजामती सेवाको पदमा उम्मेदवार हुनका लागि उमेर हद र योग्यता पनि तोकिएको छ। राजपत्र अनङ्कित पदका लागि १८ वर्ष र राजपत्राङ्कित पदका लागि २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा नभएको तथा भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा चालिस वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने उल्लेख गरिएको छ।
यस्तै, अधिकृत नवौँ र अधिकृत एघारौँ तहको पदका लागि हुने खुला प्रतियोगितामा पैँतालीस वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्नेछन् भने अपाङ्गता भएको व्यक्ति चालिस वर्षसम्म उम्मेदवार हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यस्तै, संघीय निजामती सेवा, संघीय संसद सचिवालय सम्बन्धी प्रचलित कानून बमोजिमको सेवा वा नेपाल स्वास्थ्य सेवा सम्बन्धी प्रचलित कानून बमोजिमको सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजन सम्बन्धी संघीय कानूनबमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थायी नियुक्ति भएका बहालवाला कर्मचारीलाई उमेरको हद नलाग्ने जनाइएको छ।
यस्तै, अन्तरतह प्रतियोगिता वा बढुवाका लागि पनि उमेरको हद लाग्दैन भने पदको लागि तोकिए बमोजिमको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १७:१८ बिहीबार





-600x400.jpg)