नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका विषयमा छलफल नै नगरी सकिएको छ।
जेन–जी आन्दोलनपछि पहिलो पटक शुक्रबार सानेपास्थित क्षतिग्रस्त केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा यो विषय प्रवेश नै नभएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
‘अहिले नेपाली कांग्रेस पार्टीलाई पुनर्गठन गर्ने, पुनर्संरचना गर्ने कुरा विपदका बेला साथीहरूमा उत्पन्न भएका व्यक्तिगत अभिव्यक्ति हुन्,’ बैठकपछि पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख विश्वकर्माले भने,‘नेपाली कांग्रेसको महाधिवेशन हामी तयारी गरिराखेकै छौं, १५ औं महाधिवेशनको तयारी गर्दैछौं, क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ।’
कांग्रेसको पार्टी संगठनका बारेमा, पार्टी संचालनका बारेको काम सबै पार्टीको विधानअनुरुप नै हुने उनले बताए। ‘जसरी मुलुक संचालनका लागि संविधानका बारेमा उभिएका छौं, पार्टी संचालनका बारेमा पार्टीको विधानभित्रै रहेर सबै कुरा गर्छौं भन्ने हाम्रो मनशाय छ,’ विश्वकर्माले भने।
बैठकमा यी विषय नउठेको पनि उनले बताए। ‘बैठकमा यी विषय नउठेको हुनाले यसको औपचारिक निर्णय कुनै पनि भएन,’ उनले भने।
प्रकाशित: ३ आश्विन २०८२ १५:१७ शुक्रबार





