नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले नयाँ नेतृत्व र नयाँ सभापतिको हस्ताक्षरमा आगामी निर्वाचन लड्ने दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र त्यसबाटै नयाँ नेतृत्व चयन हुने बताएका हुन्।
वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो भनी धेरै कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुराको खण्डन गरेका छन्।
थापाले लेखेका छन्, ‘प्रष्ट छ अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ।’
उनले पार्टीले निर्वाचन अगाडि नै महाधिवेशनको माग गर्नुको मुख्य कारण पनि यही भएको स्पष्ट पारेका छन्। महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित पार्टी चुनावमा जाने भन्दै अब विशेष महाधिवेशनको विकल्प नरहेको जिकिर गरे।
उनले यस विषयमा कुनै अलमलमा नपर्न समेत पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
प्रकाशित: ८ मंसिर २०८२ १४:३० सोमबार





