नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २१ गतको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्न नसकिने अवस्था बनेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै प्रवक्ता महतले क्रियाशील सदस्यता नटुंगिएका कारण अब महाधिवेशन गर्न सकिने अवस्था नरहेको बताएका हुन्।
‘क्रियाशील सदस्यता नटुंगिएकाले मतदाता नामावली टुंगिएन। मतदाता नामावली नै नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन सकिएन,’ महतले भने, ‘क्रियाशील सदस्यता पठाउँदा धेरै ठाउँमा क्रमसंख्या बिनाकै गयो, क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री जी नै हो।’
सोही कारण महाधिवेशन अब फागुन २१ अघि नहुने बताए। उनले भने, ‘अब आम निर्वाचनको सुनिश्चितता जस्तो भइसकेपछि आम निर्वाचन अगाडि फागुन २१ अगाडि महाधिवेशन हुने अवस्था रहेन।’
अब क्रियाशील सदस्यता टुंग्याउनेतिर लागेर फागुन २१लगत्तै छिटो भन्दा छिटो महाधिवेशन गर्नेतिर लाग्नुपर्ने उनले बताए।
प्रकाशित: १६ पुस २०८२ १९:१९ बुधबार





