नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन विवादमा सहमति खोज्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित चार पदाधिकारीलाई दिइएको छ ।
शुक्रबारको पार्टी कार्यसम्पादन समितिको बैठकले मुख्य रूपमा कार्यवाहक सभापति खड्कालाई नै सबै पक्षसँगको छलफलमा समझदारीको प्रस्ताव ल्याउन भनिएको छ । खड्कालाई उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सहमतिको प्रस्ताव बनाउन सहयोग गर्नेछन् ।
असोज २८ गते सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार बोल्ने क्रम सकिएको छ । भदौ २४ गतेपछि फेरिएको राजनीतिक अवस्थाबारे निर्णय लिन बसेको बैठकमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि वा पछि कहिले पार्टीको महाधिवेशन गर्ने भन्ने मुख्य विवादमा कांग्रेस अल्झेको छ ।
साथै पार्टी महामन्त्रीहरूकै अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षरलाई लिएर कांग्रेसमा तीव्र मतभेद उत्पन्न भएको छ । कांग्रेस विभाजनसम्मको अवस्थामा पुग्न सक्ने विश्लेषण नेताहरूले गरिरहेका छन् । नेताहरूले सोहीअनुसारका अभिव्यक्ति दिइरहेका बेला सहमतिबाटै निर्णयमा पुग्न भन्दै कांग्रेसले फेरि केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । सहमति खोज्न बैठक शनिबारका लागि सारेको कांग्रेसले शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।
बैठकले चार पदाधिकारीलाई समझदारीको बाटो खोज्ने जिम्मेवारी दिएको छ । उनीहरूबिच समझदारीको साझा प्रस्ताव नआए कांग्रेस केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आउन सक्ने नेताहरूको दाबी छ । उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवासँगको समेत परार्मशमा सहमतिमा पुग्ने नेताहरूले प्रयास गर्ने भएका छन् । सहमतिमा क्रियाशील सदस्यता टुंगो लगाएर पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकबाट पारित गराउने प्रयासमा नेताहरू छन् । बैठकमा पुस १६ गते देखि १५औं महाधिवेशन गर्ने गरी महामन्त्री थापाले प्रस्ताव पेस गरेका छन् भने निर्वाचनपछि वैशाख अन्तिम साता महाधिवेशन गर्नुपर्ने जनाउँदै सहमहामन्त्री महेन्द्र यादवले अर्को कार्यतालिका पेस गरेका छन् ।
प्रकाशित: २८ कार्तिक २०८२ २१:३४ शुक्रबार





