७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: गृहमन्त्रीको राजीनामा माग्दा पक्राउ परेका नेविसंघ नेताको तत्काल रिहा होस्

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै सिंहदरबार परिसरमा प्रदर्शन गर्न पुगेका नेविसंघ नेताहरूलाई हिजो पक्राउ गरिएको थियो। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य ईं. भुवन भट्ट तथा विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वि.सीलगायत छन्।  

कांग्रेसले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको उल्लेख गरेको छ। यस्ता अधिकारको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व रहेको कांग्रेसको भनाइ छ।

विज्ञप्तिमा नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने क्रममा पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रका आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।

कांग्रेसले असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता तथा संविधानको मर्मविपरीत रहेको ठहरसमेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग हुन्, जसलाई दमन गर्ने होइन, संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गरिनुपर्छ।”

कांग्रेसले सम्बन्धित निकायसँग पक्राउ परेका नेविसंघ नेताहरूलाई विना शर्त तत्काल रिहा गर्न तथा भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि कुनै प्रकारको अतिक्रमण नगर्न माग गरेको छ।

May be an illustration of text

गृहमन्त्री गुरुङले भने बुधबारनै पदबाट राजीनामा दिएका छन् । 

प्रकाशित: ९ वैशाख २०८३ १६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App