१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ

नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

शनिबार पछिल्लो घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले दुवै दिनका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै दिनका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्छ, त्यसमा कांग्रेसको पूर्ण साथ रहन्छ।’

कांग्रेसले भदौ २४ गतेको घटनालाई सरकार र छानबिन आयोगले नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ। ‘भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

घटनाको अनुसन्धान र अभियोजन पारदर्शी, निष्पक्ष र विधिसम्मत ढंगले अगाडि बढाउनुपर्ने कांग्रेसले औंल्याएको छ। आवेग र उत्तेजनामा आएर नभई स्थापित कानुनी प्रक्रिया बमोजिम दोषीहरूलाई दायरामा ल्याउनुपर्ने पार्टीको धारणा छ।

यसैगरी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति कांग्रेसले प्रश्न उठाएको छ। प्रतिवेदनले भदौ २३ को घटनालाई विस्तृत रूपमा हेरे पनि २४ गतेको विध्वंसलाई बेवास्ता गरेको भन्दै कांग्रेसले यसलाई प्रथम दृष्टिमै विधिको शासनविपरीत र त्रुटिपूर्ण भनी टिप्पणी गरेको छ।

२४ गतेको घटनाको सन्दर्भमा छानबिन गर्न नभ्याएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै कांग्रेसले यो प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको दाबी गरेको छ।

आयोगको यस्तो कार्यशैलीले सर्वोच्च अदालतले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि उठाएको प्रश्नलाई समेत थप बल पुगेको कांग्रेसले बताएको छ।

प्रकाशित: १४ चैत्र २०८२ १८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App