१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् हेरफेर गर्न कांग्रेसको अवरोध

सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले सहमति नदिँदा मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ। एमालेको विधान महाधिवेशन र आफ्नो भारत भ्रमणअगाडि नै मन्पिरिषद् हेरफेर गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना सत्ता सहयात्री कांग्रेसका कारण रोकिएको हो। प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न चाहन्छन्। दुई दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलमा कांग्रेसले तत्काल आफ्ना मन्त्री हेरफेरमा सहमति नदिएको स्रोत बताउँछ ।

कार्यसम्पादन राम्रो नभएका र केही विवादास्पद मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली छन्। प्रधानमन्त्री निवास स्रोतका अनुसार दुई दिनअघि मन्त्रिपरिषद् हेरफेरका विषयमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसहित छलफल भएको थियो।

मन्त्रिपरिषद्मा एमाले, कांग्रेस, जनता समाजवादी पार्टी (अशोक राई समूह), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। स्रोतको दाबीअनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का केही पुराना मन्त्रीलाई हटाएर नयाँ ल्याउने तयारी गरे पनि यसमा कांग्रेसको आन्तरिक राजनीतिले अप्ठेरो परेको हो। ‘कांग्रेसले अहिले आफ्नातर्फका मन्त्रीलाई हटाउन मानिरहेको छैन। प्रधानमन्त्रीले दुई साताअघि नै मन्त्रीहरू परिवर्तन गर्न चाहनुभएको हो’, निकट स्रोतले भन्यो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि दिएको राजीनामाका कारण रिक्त मन्त्री पदमा एमालेकी भगवती न्यौपाने नियुक्त भइसकेकी छन्। प्रधानमन्त्री ओलीनिकट एक नेताका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका नवलकिशोर साह सुडीलाई हटाउने तयारी छ।

लोसपा मन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर अर्को नेतालाई सरकारमा पठाउने तयारीमा छ। सुडीको स्थानमा कसलाई पठाउने भन्ने विषयमा जसपाले टुंगो लगाइसकेको छैन। जसपाभित्र रञ्जु झालाई मन्त्री बनाउन लबिइङ भइरहेको छ। जसपाले दुई महिनाअघि नै आफ्ना दुई मन्त्री फेर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो। लोसपाले पनि प्रधानमन्त्रीलाई मन्त्री हेरफेर गर्न दबाब दिइरहेको छ। कांग्रेस र एमाले नेतृत्व अलग-अलग छलफलमा व्यस्त छन्।

कार्यक्षमता कमजोर देखिएका र राम्रो नतिजा दिन नसकेका केही मन्त्री ‘रेड जोन’मा परेका छन्। सरकारमा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री भएका विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाहेकलाई फिर्ता गर्ने बताइएको थियो। रघुजी पन्त र भगवती न्यौपाने भर्खरै नियुक्ति भएका कारण उनीहरू फेरिने सम्भावना कमजोर छ।

‘एकाधबाहेक सबै फेर्ने गरी प्रारम्भिक छलफल अघि बढेको हो। प्रधानमन्त्री ओली स्पेनबाट फर्केपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भयो तर टुंगो लागेन। खासगरी कांग्रेसले पुनर्गठनका लागि नयाँ नाम दिन मानेको छैन। आन्तरिक विवादका कारण कांगे्रसलाई निर्णय गर्न अप्ठेरो परेको देखिन्छ,’ एक मन्त्रीले भने, ‘हामीलाई एक वर्षका लागि भनिएको थियो, हामी त तयार नै छौं ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसमा पार्टीले यो वा त्यो भन्ने विषय नभएको बताउछन्। ‘मन्त्रिपरिषद्का सदस्यहरू हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्छ। सत्ता सहकार्य गरिरहेका दलसँग पनि छलफल भैरहेको होला,’ उनले भने ।

कांग्रेसबाट अहिले सरकारमा प्रकाशमान सिंहको नेृत्वमा १० मन्त्री छन्। सिंह उपप्रधान एवं सहरी विकासमन्त्री हुन्।

कांग्रेसबाट रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा र ऐनबहादुर शाही वनमन्त्री छन्। गृह, पर्यटन, कृषि, कानुन र ऊर्जामन्त्री विवादमा आएका छन्। उनीहरूको कार्यक्षमतालाई लिएर कांग्रेसभित्रै प्रश्न उठिरहेको बेला प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच छलफल चलिरहेको छ।

एमालेबाट प्रधानमन्त्री र आठ मन्त्री सरकारमा छन्। एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि, दामोदर भण्डारी उद्योग, देवेन्द्र दाहाल भौतिक, रघुजी पन्त शिक्षा, मानवीर राई रक्षा र भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन्। एमालेका केही मन्त्रीहरूको कार्यशैलीलाई लिएर प्रधानमन्त्री सन्तुष्ट नभएको बताइएको छ।

अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव खानेपानी, र नवलकिशोर साह सुडी महिलामन्त्री छन्। त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री र नाउपाबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन्।

प्रकाशित: २८ श्रावण २०८२ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App