२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सुनसरी घटनामा कांग्रेसको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीसहित मधेसका जिल्लामा भएको धार्मिक तनावका क्रममा प्रहरीले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे सरकारसँग जवाफ माग गरेको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनाबारे सरकारको चित्तबुझ्दो स्पष्टीकरण आवश्यक रहेको भन्दै यसको जिम्मेवारी पनि सरकारले लिनुपर्ने बताए।

आङ्देम्बेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, क्षतिको यकिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्न माग गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखे।

संसद्मा बोल्दै उनले सुनसरी, सिरहा, पर्सा र धनुषालगायत जिल्लामा उत्पन्न साम्प्रदायिक तनाव नियन्त्रणका क्रममा बल प्रयोग गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा सरकारको स्पष्ट जवाफ आवश्यक रहेको बताए। साथै, विपद् पूर्वतयारी र प्रतिकार्यमा सरकारको कार्यसम्पादनप्रति पनि उनले आलोचना गरे।

प्रकाशित: १९ श्रावण २०८३ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App