नेपाली कांग्रेसको पदाधिकारी बैठक बिनानिष्कर्ष टुंगिएको छ र छलफललाई निरन्तरता दिन शुक्रबार पुनः बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, जेन-जी प्रदर्शनपछिको अवस्था र पार्टीको महाधिवेशन लगायतका विषयमा गहन छलफल भएको थियो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले छलफल जारी रहेको र भोलि (शुक्रबार) दिउँसो १ बजे बैठक पुनः बस्ने जानकारी दिए।
‘आज पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूसहितको बैठक बस्यो। बोल्ने क्रम अझै बाँकी छ, त्यसैले भोलि पनि फेरि १ बजे हामी बस्छौं,’ प्रवक्ता महतले भने।
उनका अनुसार, बैठकमा मुख्यगरी देशको वर्तमान राजनीतिक परिवेशले खडा गरेको चुनौती, पार्टीको भूमिका र आगामी महाधिवेशनको तयारीबारे छलफल केन्द्रित थियो।
प्रवक्ता महतले बैठकमा पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने विषयमा अधिकांश नेताहरूको जोड रहेको बताए। ‘अहिले खासमा साथीहरूको कुरा समयमा नियमित अधिवेशन हुनुपर्छ भन्नेमा केन्द्रित छ,’ उनले भने, ‘कतिपय दृष्टिकोण मंसिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गरेर हामी गर्न सक्छौँ कि सक्दैनौँ भन्ने आएको छ।’
केही नेताहरूले महाधिवेशनका लागि थप समय आवश्यक पर्न सक्ने धारणा राखेको बताउँदै उनले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकअघि एउटा साझा दृष्टिकोण बनाउने प्रयास भइरहेको जानकारी दिए।
बैठकमा भदौ २४ गतेको प्रदर्शन र त्यसपछिको अवस्थाबारे पनि छलफल भएको थियो। प्रवक्ता महतले उक्त घटनामा संलग्नलाई कारबाही गर्ने विषयमा सरकार उदासीन बनेको भन्दै आपत्ति जनाए।
उनले सरकारको यस्तो कार्यशैलीले देशमा अशान्ति र असुरक्षा बढ्ने र त्यसले घोषणा गरिएको निर्वाचनमाथि समेत प्रश्न उठाउने चेतावनी दिए।
पार्टी र देशले सामना गरिरहेको चुनौतीको सामना कसरी गर्ने, लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्दै कसरी सकारात्मक वातावरण निर्माण गर्ने भन्ने विषयमा नेताहरूबीच गम्भीर छलफल भइरहेको र थप निर्णयका लागि बैठक भोलि पनि जारी रहने उनले बताए।
प्रकाशित: २३ आश्विन २०८२ १८:३४ बिहीबार





