८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस बैठकका कुरा: चुनावमा जरुर जाने, शान्ति सुरक्षाको प्रत्याभूति खोइ?

असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारबाट फेरि सुचारु भएको छ। कात्तिक १ गते स्थगित भएको बैठक बिहीबारबाट सुरु भएको हो। 

कांग्रेसको जारी बैठकमा सबैभन्दा पेचिलो विषय महाधिवेशन बनिरहेको छ। पार्टी बैठकमा बोल्ने सबैजसो नेताहरूले उक्त विषयमा आआफ्नो धारणा राखिरहेका छन्। 

यस्तै जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन पनि कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डा छ। त्यसमा पनि सबैजसो केन्द्रीय सदस्य नबोल्ने कुरै भएन। 

स्वयं कांग्रेसको नेतृत्वले पनि फागुन २१ गतेको निर्वाचनमा नजाने भनेर भनेको छैन। कांग्रेसका सबैजसो नेताहरूले फागुन २१ गते निर्वाचन भए सहभागी हुने नै भनिरहेका छन्। सरकारले भर्खरै सुरु गरेको दलहरूसँगको संवादमा जाँदा पनि कांग्रेस नेताहरूले निर्वाचन भएको खण्डमा आफ्नो दल सहभागी हुने आश्वासन दिँदै आएका छन्। 

तर, कांग्रेसका नेताहरू निर्वाचन हुनेमा भने ढुक्क छैनन्। यही चित्र केन्द्रीय समिति बैठकमा पनि देखिएको छ। बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यबाट त्यही कुरा आइरहेको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बताए। 

‘सरकारले निर्वाचनको प्रस्ताव गरेको छ, त्यो कसरी शान्तिपूर्ण तरिकाबाट हुन्छ–हुँदैन। अझै पनि सुरक्षाको प्रत्याभूति गाउँ गाउँमा छैन, टोल टोलमा छैन। त्यसबारेमा साथीहरू बोल्नुभएको छ,’ बिहीबार बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता महतले भने। 

यद्यपि निर्वाचन भए त्यसलाई उपयोग गर्नुपर्ने सबैजसो केन्द्रीय सदस्यले भनेको पनि उनले बताए। उनले अगाडि भने, ‘यसलाई उपयोग गर्नुपर्छ, तर शान्ति सुरक्षाको प्रत्याभूति होस् भन्ने कुराहरू पनि साथीहरूले उठाउनुभएको छ।’ 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकार गठन र प्रतिनिधिसभा विघटनबारे पनि प्रश्न उठाउन भने छाडेका छैनन्। ‘संवैधानिक कुरा पनि उठेका छन्, संसद् पुनर्स्थापनाका कुरा पनि उठेका छन्। त्यसको सम्भावनाका बारेमा पनि साथीहरू बोल्नुभएको छ,’ प्रवक्ता महतले भने। 

प्रकाशित: १३ कार्तिक २०८२ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App