नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन मंसिरको अन्तिम साता गर्नेगरी आन्तरिक छलफल थालेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि नै मंसिरमा महाधिवेशन प्रस्ताव नल्याएको भन्दै दबाब बढ्दै गएका बेला मंसिर अन्तिमसाता महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो। कार्यसम्पादन समितिको बैठक महामन्त्री थापाले मंसिर २७ देखि २९ गतेसम्म गर्नेगरी कार्यतालिका प्रस्तुत गरेको दाबी गरिएको छ। तर, कार्यसम्पादन समितिले मंसिरमा महाधिवेशन गर्ने गरी प्रस्ताव स्विकृत नगरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए।
महामन्त्रीहरूले महाधिवेशनका लागि आवश्यक तयारी नगरेको भन्दै केन्द्रीय समिति र कार्यसम्पादन समितिमा पनि कुरा उठिरहेको जनाउँदै ती सदस्यले भने,‘महाधिवेशनका विषयमा विभिन्न विकल्प र मितिहरूमा छलफल भएका छन् ।तर, टुंगो लागेको छैन।’ पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्री थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेका थिए भन्ने प्रश्न गरेका थिए।
महामन्त्रीहरूलाई पार्टीको महाधिवेशन मंसिरमा गर्न कस्ले रोक्यो भन्ने प्रश्न गर्दै भने,‘ शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए? कि केन्द्रीय समितिले तय गरको मिति सारेको थियो? कसले छेक्यो मंसिरमा महाधिवेशन गर्न?’
म्याद गुज्रिसकेको÷गुज्रन लागेका महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षर गराएर विशेष महाधिवेशनको कुरा भन्दै उनले असन्तुष्टि जनाए। ‘हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, त्यो सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन?,’ उनले भने,‘तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने?ु
वर्तमान सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरण भयमुक्त नरहेको जनाउँदै बलायरले अहिले निर्वाचनमा भागलिनु पर्दछ भन्ने धारणा परिपक्क नरहेको दाबी गरे। अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा पुस्तान्तरण तथा रुपान्तरणसहित अघि बढ्न सके आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउन सकिने तर्क गरे।
जेनजी विद्रोहलाई शंकाभन्दा उनीहरूले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । कांग्रेसले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नु पर्ने जनाउँदै पौडेलले वडा देखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनौटको प्रस्ताव गरेका छन्।
संघ, प्रदेश तथा स्थानीय सरकार खर्चिलो भएको जनाउँदै पौडेल प्रतिनिधिसभा २सय१ ,मन्त्रिमण्डल बढिमा १५ जना, प्रदेशसभाको आकार ४० प्रतिशत कम गर्ने र स्थानीय तहको संख्या चार सयमा झार्नुपर्ने प्रस्ताव गरेका छन्।
पार्टीको महाधिवेशन मंसिरभित्रै सम्भव रहेको जनाउँदै पौडेलले नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने तर्क गरे। तर, बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न्पर्ने औल्याए। पहाडी जिल्लामा फागुन २१ ग्ते निर्वाचन हुन नसक्ने तर्क गर्दै उनले बैठकमा भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ। त्यसो हुँदा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ।’
बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डिला संग्रौला, गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाहले आआफ्नो धारणा राखेका थिए।
बैठक शनिबार पनि बस्नेछ।
प्रकाशित: ३१ आश्विन २०८२ २०:१० शुक्रबार





