१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक फेरि स्थगित: सहमतिभन्दा एकअर्कालाई गलाउने रणनीति

नेपाली कांग्रेसको १५औं महाधिवेशन मितिलाई लिएर नेताहरूबिच सहमति जुट्न नसक्दा जारी केन्द्रीय समितिको बैठक फेरि प्रभावित भएको छ। असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठक सहमतिका लागि पटकपटक स्थगित गरिएको छ।

शुक्रबारको बैठक स्थगित गरी आइतबारका लागि सारिएको थियो तर आइतबार पनि बैठक बस्न नसकेपछि मंगलबारका लागि सारिएको छ तर नेताहरू सहमतिमा पुग्नुभन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा लागेका छन्। यसले विवाद थप पेचिलो बन्दै गएको छ।

पार्टी महामन्त्री गगनकुमार थापा मंसिरमा नियमित महाधिवेशन सम्भव नभएको जनाउँदै त्यसभित्र कुनै पनि अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उनी मंसिरभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नेगरी कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारीमा छन् तर केन्द्रीय समितिका बहुसंख्यक सदस्यहरू विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीहरूले नियमित महाधिवेशनको तयारी नगरेकै कारण मंसिरमा नियमित महाधिवेशन सम्भव नरहेको उनीहरूको बुझाइ छ। फागुन २१ को निर्वाचनपछि महाधिवेशनको पक्षमा संस्थापन पक्षका नेताहरू देखिएका छन्।

नेता शेखर कोइरालासहितका नेताहरू मंसिर वा पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिकासहित तयारी गर्नुपर्ने पक्षमा छन्। यति गर्दा पनि महाधिवेशन सम्भव भएन भने निर्वाचनपछि गर्न शेखर पक्ष लचिलो देखिएको छ।

कोइरालासहितका नेताहरूले एक वर्षअघिदेखि नै नियमित महाधिवेशन गर्ने गरी तयारी नभएको भन्दै केन्द्रीय समितिमा असन्तुष्टि जनाउँदै आएका थिए। केही समयअघिसम्म मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको शेखर पक्ष पार्टीभित्रको विवाद पेचिलो बन्दै गएपछि सहमतिका लागि केही लचिलो देखिएको छ।

महामन्त्री थापा भने मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्। त्यसका लागि केन्द्रीय समिति तयार नभएपछि थापाले बैठक नै बहिष्कार गर्दै आएका छन्। मंसिरमा नियमित महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा थापालाई साथ दिँदै आएका अर्का विश्वप्रकाश शर्माले पुस दोस्रो साता महाधिवेशनको प्रस्ताव गरेका थिए तर त्यसमा पनि सहमति जुट्न नसकेपछि उनले महासमिति सदस्यसँग राय लिएर अहिलेको विवादको निरूपण गर्नुपर्ने अर्को प्रस्ताव गरेका छन्। त्यसका लागि कांग्रेस नेताहरू तयार देखिएका छैनन्।

पार्टी विधानअनुसार महाधिवेशन हुने वर्षबाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ तर १४औं महाधिवेशन भएको चार वर्षमा एक पटक मात्र कांग्रेसले महासमिति बैठक बेलाएको छ। २०८० फागुनमा महासमिति बैठक गरेको कांग्रेसले त्यसले गरेका निर्णय कार्यान्वयनमा समेत लगेको छैन। आफ्नो अनुकूलता भएसम्म केन्द्रीय नेताहरूले महासमिति सदस्यहरूको अवमूल्यन गरेको र अप्ठेरोमा आफुहरूलाई खोज्ने र विवादमा तान्न खोजिएको कतिपयको बुझाइ रहेको छ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मंसिरमा नियमित नभए विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। त्यसको निर्णय लिन महासमिति सदस्यहरूको राय लिने प्रस्ताव शर्माले गरेका हुन् तर त्यसमा सहमति जुट्न नसक्दा कांग्रेसभित्र नियमित वा विशेष विमहाधिवेशनका लागि महामन्त्री र सहमहामन्त्रीहरूले आआफ्ना प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी गरेका छन्।

विशेष महाधिवेशन पक्षधरले मंगलबार पार्टीमा दबाब बढाउन भेला नबोलाएको छ। पार्टीभित्रको एउटा समूहका युवाले पार्टी केन्द्रीय कार्यालयमा आइतबार तालाबन्दी गरेका छन्। सहमतिको साझा उपाय खोज्न पदाधिकारी तथा पूर्वपदाधिकारी असफल हुँदा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा दुवै पक्षले आआफ्नो तयारीलाई तीव्र बनाएका छन्। सोहीअनुसार आइतबारका लागि स्थगित केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि सारिएको छ।

अब बस्ने केन्द्रीय समिति बैठकमा पुसमा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी छ। माघमा राष्ट्रियसभाको निर्वाचन र फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भइसकेको छ। पार्टीभित्र पनि क्रियाशील सदस्यतासहितका विषय यथावत् रहेकाले उक्त मितिमा महाधिवेशन सम्भव नहुने एक नेताले बताए। त्यसपछि वैशाख वा जेठका लागि महाधिवेशन मिति सर्ने र सोही बेला महाधिवेशन हुने ती नेताको दाबी छ।

केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशनका विषयमा देखिएको विमतिले पार्टीलाई हित नगरेको बताए। पार्टीका नेता तथा कार्यकर्तालाई मात्र नभएर सिंगो देशले नै कांग्रेसभित्रको बृहत् एकता चाहेको बताउँदै उनले भने, ‘अहिलेको विवाद र विमतिले बरु पुरानै नेताहरू ठिक भन्ने अवस्थामा नेता तथा कार्यकर्ता पुग्ने देखियो।’

प्रकाशित: १७ कार्तिक २०८२ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App