नेपाली कांग्रेसका नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन गर्न सकिने बताएका छन्। जेन–जी विद्रोहपछि फेरिएको राजनीतिक अवस्थासँगै पार्टी महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए।
देशभरिबाट संकलित हस्ताक्षर बुधवार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन्। त्यसको भोलिपल्ट बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरूले महाधिवेशन घोषणा गरिसकेको भन्दै कांग्रेसले पनि मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन्।
सभापति देउवामाथि दबाब बढाउन महामन्त्रीहरूसहितका नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए। त्यो नबुझ्दै देउवाले मंगलबार नै स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक सभापतिको घोषणा गरेका थिए। त्यससँगै विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको बहस चलाएका पार्टी पदाधिकारीमाथि आगामी मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गर्न दबाब बढेको छ।
बैठकको सुरुमै खड्काले विशेष महाधिवेशन नभएर नियमित महाधिवेशनको तयारीमा लाग्नुपर्ने धारणा राखे। तर कहिले नियमित महाधिवेशन गर्ने भन्ने खड्काले केही नखुलाए पनि अब विशेष महाधिवेशन आवश्यक नरहेको तर्क भने गरेको बैठक सहभागी एक नेताले जानकारी दिए।
तर नेता शेखर कोइरालाले सात बुँदे अवधारणा केन्द्रीय समितिमा राख्दै मङ्सिरभित्रै नियमित महाधिवेशन सम्भव रहेको दाबी गरेका छन्। अन्य राजनीतिक दलहरूसमेत मङ्सिरभित्रै महाधिवेशनको तयारीमा जुटेको धारणा राख्दै कोइरालाले सोहीअनुसारको तयारी थाल्न पदाधिकारीहरूलाई आग्रह गरे। ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन्, भने हामी किन सक्दैनौँ?’ भन्ने प्रश्न गर्दै शेखरले भने, ‘म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु– कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिरमा हाम्रो महाधिवेशन गर्नुपर्छ।’
पार्टीको नियमित महाधिवेशनको आवश्यक तयारी पार्टीका पदाधिकारीले नगरेको भन्दै असारमा बसेको केन्द्रीय समिति बैठकमा पनि शेखरले तीव्र असन्तुष्टि जनाएका थिए। महाधिवेशन गराउन पदाधिकारीहरू नै तयार नदेखिएको त भन्ने आशंका व्यक्त गर्दै शेखरले त्यति बेलै क्रियाशील सदस्यता नवीकरण र नयाँको काम तत्काल टुंगो लगाउन आग्रह गरेका थिए।
२०८१ सालको असारमै बसेको केन्द्रीय समितिको बैठक क्रियाशील सदस्यताको विषय टुंगो लगाउन महामन्त्री थापाको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले पटक पटक म्याद थप गर्दै नयाँ र नवीकरणको काम सक्न भन्दै असोज मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ।
तर उक्त समय सकिन लाग्दा साढे नौ लाख क्रियाशील सदस्य रहेको भनिएको कांग्रेसमा आधा मात्र नवीकरण भएको स्रोतको दाबी छ। विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै नेता कोइरालाले भने, ‘हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा भर्ने हो भन्ने म बुझ्छु। यी सबैको सम्बोधन ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ ।’
सभापति देउवाद्वारा प्रस्तुत भावनात्मक र भविष्यन्मुख प्रेरणालाई आत्मसात् गर्दै शेखरले दक्षिण एसियाका मुलुकहरूसँगै नेपालको अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षालाई केन्द्रमा राख्नुपर्ने तर्क गरे। एसियासँगै विश्व राजनीतिमा आएको उथलपुथलबाट नेपाल अछुतो नरहेको जनाउँदै संविधानसभाबाट आम नेपाली जनताको भावनाअनुरूप निर्माण भएको वर्तमान संविधान फेरि एक पटक जनताको कठघरामा पुगेको उनले स्मरण गराए।
संविधानको रक्षार्थ निर्वाचनमा जानुको अर्को विकल्प नभएको जनाउँदै उनले भने, ‘नेपाललाई एउटै अभियानमा भविष्योन्मुखी दिशातर्फ लैजाने बाटो भनेको घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण नै हो।’
त्यसका लागि उनले केही सर्त र तयारीहरू हुनुपर्नेमा जोड दिएका छन्। नागरिकको आवाजलाई नसुनेकै कारण अहिलेको परिणाम आएको शेखरको बुझाइ छ। कांग्रेसले देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिँढीले सँगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनुपर्ने जनाउँदै शेखरले भने, ‘हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ ।’
शेखरसहित अधिकांश नेताहरू छिटो र छोटो बाटोबाट पार्टी नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने सभापति देउवानिकट नेताहरूले फागुन २१ गते हुने निर्वाचनको तयारी जुट्नुपर्ने जनाउँदै त्यसपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्।
महामन्त्री थापा, शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा देखिएका छन्। तर बदलिएको अवस्था र देशभरिको दबाबपछि उनीहरू मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको पक्षमा छन्। सोही सेरोफेरोमा केन्द्रित भएर बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल भएको छ। बैठकमा नेता शेखर तथा मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईँ, राजीव कोइराला, गुरु बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका छन्। बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्नेछ।
प्रकाशित: ३० आश्विन २०८२ २०:५८ बिहीबार





