जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक कांग्रेस हुने दाबी गरेका छन्। देउवा र थापा नेतृत्वको कांग्रेसबीच आधिकारिकताको दाबी भइरहेका बेला बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेस आधिकारिक हुने बताएका हुन्।
बस्नेतले भनेका छन्, ‘राजनीतिक दलको लागि महाधिवेशन सर्वोच्च अंग हो। यसले गरेको निर्णय नै अन्तिम हुन्छ। दलमा पार्टी सदस्य सार्वभौम हुन्छन्। पार्टी सदस्यले नै नेता र नीति बनाउने भएकोले बहुमत पार्टी सदस्य सहभागी भएर गरिएको विशेष महाधिवेशनले नै मान्यता पाउने कुरा निश्चित छ।’
विशेष महाधिवेशनको ८८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको सम्बन्धमा उनले त्यसको कुनै औचित्य नभएको बताए। उनी भन्छन्, ‘विशेष महाधिवेशन सम्पन्न भएपछि प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएपनि पार्टी नै परित्याग गरे पनि त्यसको कुनै अर्थ हुँदैन।’
आधिकारिकताको दाबी गर्दै देउवा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा पुगेको बारे धारणा राख्दै उनले गर्नुपर्ने काम नगरेर पछुतोमा परेपछि नगर्नुपर्ने काममा देउवा पक्ष लागेको उनको भनाइ छ।
गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस रुपान्तरण र सुदृढीकरण हुने अपेक्षा गर्दै निर्वाचित कार्यसमितिलाई उनले बधाई समेत व्यक्त गरेका छन्।
प्रकाशित: २ माघ २०८२ १३:१५ शुक्रबार





