२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतको दाबीः रूसले विपक्षी नेता एलेक्सी नाभाल्नीलाई ‘डार्ट फ्रग’ विषबाट मार्‍यो

बेलायत र उसका युरोपेली सहयोगी देशहरूले रूसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई ‘डार्ट फ्रग टक्सिन’ बाट बनाइएको विष प्रयोग गरेर मारिएको आरोप लगाएका छन्।

साइबेरियास्थित दण्ड उपनिवेश (पीनल कोलोनी) मा नाभाल्नीको मृत्यु भएको दुई वर्षपछि बेलायत र उसका साझेदारहरूले उनको शरीरबाट लिइएका नमुनाको विश्लेषणपछि यस प्रकरणमा क्रेमलिनलाई दोषी ठहर गरेका हुन्। बेलायतको विदेश कार्यालयले नाभाल्नीको शरीरबाट लिइएको नमुनामा ‘एपिबेटिडाइन’ नामक टक्सिन फेला परेको र यसको उपस्थितिको कुनै साधारण कारण नभएको जनाएको छ।

म्युनिख सुरक्षा सम्मेलनमा बेलायतकी विदेशमन्त्री यभेट कूपरले भनिन्, ‘एलेक्सी नाभाल्नी जेलमा रहँदा उनीविरुद्ध यस्तो घातक टक्सिन प्रयोग गर्ने तरिका, उद्देश्य र अवसर केवल रूसी सरकारसँग मात्रै थियो।’

यस विषयमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘एलेक्सी नाभाल्नीले अत्याचारको सामना गर्दै ठूलो साहस देखाए। सत्यलाई उजागर गर्ने उनको दृढ संकल्पले सधैं रहने विरासत छोडेको छ। मेरा प्रार्थनाहरू उनको परिवारसँग छन्।’ उनले थपे, ‘रूस र पुटिनका घातक मनसायबाट हाम्रा नागरिक, हाम्रा मूल्य र हाम्रो जीवनशैलीको रक्षा गर्न जे गर्नुपर्छ, म त्यही गरिरहेको छु।’

नाभाल्नी भ्रष्टाचारविरोधी अभियानकर्ता र रूसका सबैभन्दा मुखर विपक्षी नेता थिए। उनको १६ फेब्रुअरी २०२४ मा ४७ वर्षको उमेरमा जेलमै अचानक मृत्यु भएको थियो। सन् २०२० मा उनलाई ‘नोभिचोक’ नामक स्नायु–विष (नर्भ एजेन्ट) प्रयोग गरेर विषाक्त बनाइएको थियो। जर्मनीमा उनको उपचार भएको थियो र रूस फर्किएपछि उनलाई विमानस्थलमै पक्राउ गरिएको थियो।एजेन्सी

प्रकाशित: ३ फाल्गुन २०८२ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App