भावुक रूपमा प्रदर्शन हुँदा सात खेलाडीले अस्ट्रेलियामै बस्ने निर्णय गरे र इरानको महिला फुटबल टोलीले देश फर्कने निर्णय गरे।
सिड्नी विमानस्थल बाहिर भावुक विरोध प्रदर्शन र विमानस्थल भित्र अस्ट्रेलियन अधिकारीको प्रयासपछि सात खेलाडीबिना नै इरानी टोलीले स्वदेश फर्कन निर्णय गरेका थिए। अस्ट्रेलियामा शरण लिन सक्ने विकल्प अस्ट्रेलियाका अधिकारीले सुनिश्चित गरेपछि ती खेलाडी त्यहाँ बसेका हुन्।
मंगलबार राती इरानको उडान समय नजिकिँदै थियो। सुरक्षा जाँचको प्रक्रियामा प्रत्येक खेलाडीसँग छुट्टाछुट्टै अधिकारीहरूले भेट गरेका थिए। द्वभाषेमार्फत उनीहरूलाई इरान फर्कन नपर्ने विकल्प दिइएको थियो। तीमध्ये अन्तत् सात महिलाले मानवीय भिसा स्वीकार गरे। अब उनीहरू स्थायी रूपमा अस्ट्रेलियामा बस्न अनुमति पाउँछन्। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले त्यो भेटघाटलाई भावनात्मक भएको प्रतिक्रिया दिएका छन् तर पछि एक खेलाडीले आफ्नो निर्णय परिवर्तन गरिन्, जसले उनीहरूले सामना गरिरहेको तनावपूर्ण अवस्थालाई देखाउँछ।
‘अस्ट्रेलियामा मानिसहरूले आफ्नो निर्णय परिवर्तन गर्न सक्छन्,’बर्कले भने। उनले केही घन्टाअघि मात्र खेलाडीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनीहरूको पहिचान स्पष्ट देखिन्थ्यो। यो घटना अस्ट्रेलियाभर चर्चाको विषय बन्यो। एएफसी महिला एसियन कपमा इरानी टोलीले पहिलो खेलअघि राष्ट्रिय गान बज्दा मौन बसे। त्यसपछि देश र खेलाडी बीचको विवाद सुरु भएको हो तर बाँकी दुई खेलमा भने उनीहरूले राष्ट्रिय गान गाए। आफ्नो व्यवहारबारे भने उनीहरूले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएनन्। केहीले उनीहरूको मौनतालाई विरोध वा विद्रोहको संकेत माने।
केहीले शोकको अभिव्यक्ति आंकलन गरे। ‘जब खेलाडीहरू अस्ट्रेलियामा भएको पहिलो खेलमा मौन बसे। त्यो मौनता संसारभर गर्जनजस्तै सुनियो,’टोनी बर्कले भने,‘प्रतिक्रिया स्वरूप हामीले अस्ट्रेलियामा तपाईंहरू सुरक्षित हुन सक्नुहुन्छ भन्यौं।’
टोली गत महिना अस्ट्रेलिया पुगेको थियो, जुन फेब्रुअरी २८ मा सुरु भएको इरान युद्धभन्दा अघि थियो। इरान एसियन कपबाट बाहिरिएपछि टोलीलाई युद्धग्रस्त देशमा फर्किनुपर्ने अवस्था आएको हो। त्यससँगै उनीहरूलाई स्वदेश नपठाउन अस्ट्रेलियामा बसिरहेका इरानीहरूले आवाज उठाउन थालेका हुन्। घर फर्कन एयरपोर्ट जाने क्रममा पनि उनीहरूले बिच रोडमा नै सुतेर इरानी खेलाडी रहेको बसलाई अबरोध पुर्याएका थिए।

इरानी समुदाय र अमेरिकी राष्ट्रपतिको आग्रह
अस्ट्रेलियामा बस्ने इरानी समूदायले राष्ट्रिय गान नगाउनुको कारण खेलाडीहरूले इरानको धार्मिक शासनबाट गम्भीर परिणाम भोग्न सक्ने खतरा व्यक्त गरेका थिए। बुधबार अस्ट्रेलियामा थप आक्रोश फैलियो जब सञ्चारमाध्यमले एउटा तस्बिर प्रकाशित गरे। त्यसमा एक महिला खेलाडीलाई टोलीकै सदस्यले हात समातेर विमानस्थल जाने बसतर्फ लैजाँदै गरेको देखिन्छ। यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सोमबार प्रतिक्रिया दिए। उनले अस्ट्रेलियाली सरकारलाई ती महिलालाई आश्रय नदिएको भन्दै आलोचना नै गरे। तर अर्को दिन नै अस्ट्रेलियाली अधिकारीहरू र उनीहरूसँग गोप्य रूपमा यसबारे छलफल भइरहेको खुलासा भयो।
त्यसैबीच इरानका एक अधिकारीले खेलाडीहरू सुरक्षित रूपमा घर फर्किन नसक्ने भन्ने आरोप अस्वीकार गरे। इरानका उपराष्ट्रपति (पहिलो वरीयता) मोहम्मद रेजा अरेफले आफ्ना परिवारलाई इरानले खुला हृदयले स्वागत गर्ने र सरकारउनीहरूको सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिक्रिया दिएका थिए।
‘इरानी राष्ट्रको पारिवारिक मामिलामा हस्तक्षेप गर्ने र आमाभन्दा बढी मायालु बन्ने भूमिका कसैले खेल्न पाउँदैन,’ उनले थपे।

इरानको फुटबल महासंघले अन्तर्राष्ट्रिय फुटबल निकायहरूलाई डोनाल्ड ट्रम्पको प्रत्यक्ष राजनीतिक हस्तक्षेपबारे समीक्षा गर्न आग्रह गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। यस्तो टिप्पणीले इरानको पुरुष टोलीलाई सन् २०२६ को विश्वकपमा असर पार्न सक्ने चेतावनी पनि दिइएको छ।
‘सम्मानका साथ निर्णय गर्न दिने’
अस्ट्रेलियाका अधिकारीले खेलाडीलाई बस्ने वा फर्कने निर्णय स्वतन्त्र रूपमा गर्न अवसर दिइएको बताएका छन्। टोनी बर्कले सिड्नी विमानस्थलमा अन्तिम क्षणमा गरिएको छलफलमा खेलाडीलाई टोलीका व्यवस्थापकबाट अलग राखिएको थियो र उनीहरूलाई परिवारसँग फोनमा कुरा गर्न समय पनि दिइएको थियो। ‘सबै कुरा उनीहरूले सम्मानका साथ आफ्नो निर्णय लिन पाऊन् भन्ने थियो,’उनले भने।
उडान प्रस्थान गर्नुअघि टोलीका थप सदस्यले अस्ट्रेलियामा बस्ने निर्णय नगरेपछि अधिकारीहरू निराश भएका थिए।
‘राष्ट्रको रूपमा महत्त्वपूर्ण कुरा भनेको उनीहरूलाई विकल्प उपलब्ध गराउनु थियो,’ बर्कले भने। बुधबार धेरै पत्रिकाहरूको पहिलो पृष्ठमा आश्रय स्वीकार गर्ने महिलाहरूको तस्बिर राख्दै ‘नयाँ साहसी अस्ट्रेलियाली’ जस्ता शीर्षकसहित प्रकाशित भए। तर केही घन्टापछि टोनीले एक महिलाले आफ्नो निर्णय परिवर्तन गरी इरान फर्किने बताए।
टोलीका साथी र प्रशिक्षकले उनलाई इरानी दूतावाससँग सम्पर्क गर्न सुझाव दिएका थिए। दूतावासलाई उनीहरू बसिरहेको स्थानको जानकारी पुगेको थियो। अस्ट्रेलियामा बस्ने योजना बनाएका ६ महिलालाई सुरक्षा कारणले अर्को स्थानमा सारिएको छ।
बर्कले उनीहरूलाई स्थायी बसोबासका लागि कानुनी संघर्ष गर्न नपर्ने र स्वास्थ्य, आवास तथा अन्य सहयोग उपलब्ध गराइने बताएका छन्। केही सदस्यको सम्बन्ध इरानको अर्धसैनिक रेभोलुसनरी गार्डसँग भएको आशंकाको कारण भिसा प्रस्ताव गरिएको थिएन। ‘अस्ट्रेलिया छाडेर गएका केही मानिसहरू यहाँ नहुनुले खुसी छु,’बर्कले भने।
टोलीमा कति सदस्य थिए भन्ने स्पष्ट छैन। तर आधिकारिक सूचीमा २६ खेलाडी, प्रशिक्षक र अन्य कर्मचारीहरू उल्लेख छन्। एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार इरानी टोली सिड्नीबाट क्वालालम्पुर, मलेसिया पुगेको र त्यहाँ होटलमा बसेको पुष्टि गरेको छ। ‘इरानको आगामी यात्रा तय नहुँदासम्म आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ। खेलाडी तथा अधिकारीहरूको सुरक्षा र हितलाई प्राथमिकता दिइनेछ,’ एएफसीको विज्ञप्तस्मा छ।
प्रकाशित: २८ फाल्गुन २०८२ ०९:२८ बिहीबार





