सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको उपस्थितिबिना आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिएको छ।
सोमबार सकिने भनिएको विशेष महाधिवेशनमा मंगलबार नयाँ नेतृत्व चयन गर्दै सकिने आयोजकहरूले जनाएका छन्। सोमबार बिहान ११ बजेपछि सुरु भएको बन्द सत्रले कार्यविधि पारित गरेको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधिको अध्यक्षतामा सुरु भएको बन्द सत्रले वर्तमान पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय समिति भंग गर्दै नयाँ कार्यसमिति चयन गर्न सक्ने व्यवस्था राखिएको छ।
विशेष महाधिवेशनले यसका सहभागीलाई उत्साहित तुल्याएपछि बल्ल संस्थापन पक्षले यसमा सुनुवाइ गर्नुपर्ने अवस्था आएको छ। उद्घाटन सत्रमा उत्साहित देखिएको महाधिवेशन प्रतिनिधिहरू मुलुक संकट उन्मुख भइरहेका बेला पार्टीभित्रको एकताको पक्षमै छन्। उनीहरूले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई कांग्रेसको एकता कायम राख्दै अगाडि बढ्न सुझाइरहेको नेताहरूले जनाएका छन्।
कांग्रेस विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशतलाई बेवास्ता गर्दै अघि बढेको संस्थापन पक्ष पनि पार्टीको एकता जोगाउन सक्रिय रहेका छन्। विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा भेला भएका पार्टीका नेता तथा कार्यकर्ताको सम्मानमा कुनै आँच नआउने गरी महामन्त्रीसहितका नेताहरूलाई कांग्रेस हितमा उभिने प्रतीक्षामा छन्। कांग्रेस विभाजन हुनबाट रोकेर महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई नीति वा संकल्प सम्मेलनमा परिणत गर्ने संस्थापन पक्षको बुझाइ छ। त्यसभन्दा बाहिर गएर महामन्त्रीसहितका नेताहरू अघि बढे पार्टी विधि र विधानअनुसार अघि बढ्ने रणनीतिमा संस्थापन पक्ष पुगेका छन्। त्यसपूर्व सहमतिका लागि अधिकतम प्रयास गर्ने संस्थापन पक्षको बुझाइ छ।
पार्टी विभाजनको डिलमा पुगेको भन्दै नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेताहरूसँग संवाद र सहमतिका लागि सक्रिय रहेका छन्। सोमबार बिहान आफू निकटहरूसँग छलफल गरेका शेखरले पार्टी विभाजन नहुने गरी विशेष महाधिवेशनलाई नीति सम्मेलन वा कुनै नाममा परिणत नभएसम्म सहभागी नहुने स्पष्ट पारेका छन्। महामन्त्रीहरूले पार्टीको नयाँ नेतृत्व चयन नगर्नेसहितका लिखित प्रतिबद्धता नआएसम्म आफू भृकुटीमण्डप नजाने कोइरालाले जनाएका छन्। सभापति देउवासहितका नेतालाई भेट्न नेता मीनेन्द्र रिजाल, जीवन परियारसहित पुगेका कोइरालाले पार्टी विभाजनको सँघारमा पुगेको भन्दै त्यसबाट जोगाउन आग्रह गरेको निकट स्रोतको दाबी छ।
त्यसअघि पार्टीका विभिन्न नेतामार्फत र हस्ताक्षरकर्ताहरू मध्यका गुरुराज घिमिरे, देवराज चालिसे, मधु आचार्यसहितका नेतासँग पनि छलफल गरेका छन्। उनीहरूले सहमतिका लागि विशेष महाधिवेशनलाई नीति सम्मेलनमा परिणत गर्ने र त्यसले पारित गरेका विषयलाई केन्द्रीय समितिले अपनत्व लिनुपर्ने माग राखेका छन्। त्यसका साथै फागुन २१ गते हुने आम निर्वाचनको उम्मेदवार (टिकट) मा देउवाको हस्ताक्षर हुन नहुने, निर्वाचनमा सम्मानजनक टिकटको भाग पाउनु पर्ने र टिकट वितरणका लागि संसदीय समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। वैशाखको अन्तिम साताका लागि तय गरिएको १५औँ महाधिवेशन नसर्ने गरी सुनिश्चितता गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ। विशेष महाधिवेशनलाई नीति वा अर्को केही नाम दिएर समापनमा नेताहरूको सहभागिता खोजेका छन्।
उनीहरूले राखेका केही विषयमा शेखर कोइराला मात्र नभएर संस्थापन पक्ष पनि लचिलो देखिए पनि उक्त विषय महामन्त्री थापासहितको हो कि होइन भन्नेमा नेताहरू आश्वस्त हुन सकेका छैनन्। महामन्त्री थापाको सम्पूर्ण तयारी, अभिव्यक्ति र बन्द सत्रबाट पारित कार्यविधिले पार्टी विभाजन गरेर नयाँ नेतृत्व चयनको कसरतमा रहेको उनीहरूको बुझाइ रहेको एक नेताले जानकारी दिए। पार्टीलाई विभाजन हुनबाट रोक्न सक्रिय शेखरले सोमबार साँझ विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका छन्।
त्यसअघि सभापति देउवाले आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। भृकुटीमण्डपमा नयाँ नेतृत्व चयन गर्नेसहितको तयारी भइरहेको जनाउँदै देउवाले त्यस विषयमा प्रदेशस्तरमै नेताहरूको राय लिएका थिए। पार्टीको विधि र विधानअनुसार विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन सम्भव नरहेको जनाउँदै आफूहरू सबै साथै रहेको जनाएका थिए। महामन्त्री थापासहितका नेता तथा केही कानुनविद्ले बहुमतबाट नेतृत्व परिवर्तन गर्न सक्ने भनेर भ्रम फैलाएको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई नभएर केन्द्रीय समिति र संसदीय दललाई मात्र चिन्ने जनाएका थिए। पार्टी सभापतिलाई दुई तिहाइले मात्र हटाउन सकिने धारणा राख्दै बैठकमा सहभागी एक नेताले भने, ‘निर्वाचन आयोगले सभापति शेरबहादुर देउवा जहाँ उभियो, त्यही दलले रुख र चार तारे झन्डा पाउनेमा विवाद छैन।’
पार्टीलाई विभाजनबाट रोक्न महामन्त्रीहरू तयार भए महाधिवेशन प्रतिनिधिहरूको सम्मानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई सिम्बोलिक रूपमा समापनमा सहभागी गराउन सकिने नेताहरूले सुझाएका छन्। तर सभापति देउवाले आफू र कार्यवाहक सभापति खड्का भृकुटीमण्डप नजाने स्पष्ट पारेका थिए।
उता विशेष महाधिवेशन पक्षधरले भने मंगलबार बिहानबाट पार्टीको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया थाल्ने दाबी गरेका छन्। बन्दसत्रमा पेस गरेका प्रस्तावहरूलाई विभिन्न नौ समूह बनाएर छलफलमा जुटेका उनीहरूले बिहानसम्म पार्टी सभापतिलाई कुर्ने जनाएका छन्। महाधिवेशनको समापनसम्म कांग्रेस नेतृत्व आउँछ, आउनुपर्छ भन्दै विशेष महाधिवेशन पक्षधरका मनोजमणि आचार्यले भने, ‘सभापति र कार्यवाहक सभापतिले यसको अपनत्व लिनुपर्छ। लिइदिनुस् भनेर अहिले पनि भनिरहेका छौँ।’ भोलि (मंगलबार) सम्म नआएको खण्डमा नियमित महाधिवेशनले गर्ने काम विशेष महाधिवेशनले गर्ने जनाउँदै पत्रकारसँग उनले भने, ‘आउनुभएन भने निर्वाचनको प्रक्रिया गरेर अगाडि बढ्छौँ।’
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरे केही नेताहरूलाई कारबाही गर्ने संस्थापन पक्षको तयारी छ। सोहीअनुसार मंगलबार ११ बजे केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ। ‘हामी पहिला नै कारबाही गर्ने पक्षमा छैनौँ,’ एक नेताले भने, ‘निर्वाचनको प्रक्रिया अघि बढ्यो भने पार्टीले विधानअनुसारको कदम चाल्नेछ।’
सोमबार नै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल गरेका छन्। सबै मिली देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको जनाउँदै उनले भनेका छन्, ‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्छु।’
प्रकाशित: २९ पुस २०८२ ०६:५७ मंगलबार





