नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले नयाँ राजनीतिक दलहरूलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच एकताको सहमति भएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता राठौरले नयाँ दलहरूले चर्का कुरा मात्र गर्ने तर पार्टी टिकाउन नसक्ने टिप्पणी गरे।
‘यी गैरजिम्मेवार नयाँ पार्टीहरू, दलालहरु, सहकारी ठग र गँजेडीहरु ठुला कुरा गर्छन्, चर्का कुरा गर्छन्,’ राठौरले भने, ‘नयाँ पार्टीहरूले ४-५ वा १० वर्ष पार्टी चलाएर देखाउन्, त्यसपछि कुरा गरौँला।’
उनले ५ वर्ष पनि पार्टी चलाउन नसकेका उदाहरण दिँदै, नागरिक उन्मुक्ति र सीके राउतको जनमत पार्टीमा देखिएको टुटफुटतर्फ सङ्केत गरे। उनले भने, ‘विद्वानले खोलेको पार्टी चार टुक्रा भइसक्यो, पहिले पार्टी चलाउनुपर्यो।’
नेता राठौरले राजनीतिमा ‘हिरो’ खोज्न नहुने तर्क गरे। युक्रेनमा हास्य कलाकार भोलोदिमिर जेलेन्स्की राष्ट्रपति बन्दा देशले युद्ध भोग्नुपरेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने चेतावनी दिए।
‘हिजो युक्रेनमा जेलेन्स्कीलाई पपुलिस्ट कलाकारका रूपमा राष्ट्रपति बनाउँदा आज युक्रेनले जे भोगिरहेको छ, नेपालमा पनि यी गैरजिम्मेवार पार्टी र नेताहरूले देशलाई त्यस्तै अवस्थामा पुर्याउँदै छन्,’ उनले भने।
उनले राजनीतिमा हिरो नभई विचार, निष्ठा, नैतिकता र इमानदारिता खोज्नुपर्नेमा जोड दिए।
कांग्रेसले ८० वर्ष लामो सङ्घर्ष गरेर जनतालाई अधिकार सम्पन्न बनाएको दाबी गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भने स्वीकार गरे। तर, उनले भ्रष्टाचार नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको र नेपाली समाज नै भ्रष्ट रहेको जिकिर गरे।
‘हामीले गर्न नसकेको भ्रष्टाचार नियन्त्रण हो, यो अमेरिका, युरोप, चीन र भारतमा पनि छ,’ उनले भने, ‘अहिलेको सरकार वा भोलि आउने सरकारले पनि यो नियन्त्रण गर्न सक्दैन किनकि हाम्रो समाज नै भ्रष्ट छ। भगवानलाई पनि घुस दिने समाजबाट हामी आएका छौँ।’
राठौरले देशको बिग्रँदो अवस्थाका लागि नेता मात्र नभई कर्मचारी, बुद्धिजीवी, पत्रकार र जनता पनि दोषी रहेको आरोप लगाए। उनले जनताले जात, धर्म, नाता र मासु–रक्सीमा भोट बेचेका कारण गलत प्रतिनिधि चुनिएको बताए।
‘यो व्यवस्था उत्कृष्ट छ तर चलाउने नेता, कर्मचारी, बुद्धिजीवी र पत्रकार गतिला भएनन्, जनता पनि गतिला भएनन्,’ राठौरले भने, ‘जनताले नबुझेका कारण, मासु र रक्सीमा भोट हालेका कारण यो परिस्थिति निर्माण भएको हो।’
सहकारी ठग र दलालहरूले पुराना पार्टीलाई बदनाम गराएको भन्दै उनले ‘सो-कोल्ड’ बुद्धिजीवी र पत्रकारले देशलाई गृहयुद्धतर्फ धकेलिरहेको गम्भीर आरोप समेत लगाए।
फागुन २१ गते हुने निर्वाचन नभए देश गृहयुद्धमा जाने चेतावनी दिँदै उनले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित: १३ पुस २०८२ १६:१६ आइतबार





