नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विधिको शासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सरकारका गलत क्रियाकलापमाथि पार्टीले तीखो निगरानी राख्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको नीतिअनुसार प्रतिपक्षी दलका रूपमा सरकारले गर्ने गलत काममाथि प्रश्न उठाइने उनले स्पष्ट पारे। विधिको शासन अदालत, राजनीतिक दल र कर्मचारीमाथि हुने कारबाही सबै क्षेत्रमा समान रूपमा लागू हुनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै कर्मचारीमाथि कारबाही गर्दा पनि सरकारले पारदर्शिता र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए।
पत्रकारहरूसँगको संवादमा उनले प्रधानमन्त्री र उनको टिमलाई लक्षित गर्दै सरकारका कामकारबाहीबारे प्रश्न उठाउँदा त्यसको जवाफ दिनुपर्नेमा उल्टै प्रश्न गर्नेहरूलाई निरुत्साहित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।
उनले पत्रकारहरूलाई कालोपट्टी प्रदर्शन गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि चुनौती देखिएको बताए। ‘खतरामा तपाईं पर्नुभएको छ। पार्टीको सभापति आदरणीय गगन थापाको अगाडि अनधिकृत व्यक्तिले अज्ञात व्यक्तिले मोटर राखिरहँदा त्यसलाई पछ्याउँदै साथीहरू जाँदा त्यो मोटर प्रहरीले त्यहाँ राखेको भन्ने कुराको पुष्टि भएको छ,’ शर्माले भने।
उनले पत्रकारहरूले प्रश्न गर्न र घटनाबारे समाचार लेख्न छाडे संविधान पुस्तकमा मात्र सीमित हुने चेतावनी दिए। खुला मञ्चमा महाधिवेशन गर्न आएको कांग्रेस खुला रूपमा संवाद गर्न तयार रहेको पनि उनले बताए।
कांग्रेसको आधिकारिकताबारे प्रश्न उठाउने प्रयास अस्वीकार्य :
महामन्त्री शर्माले नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानअनुसार सम्पन्न भएको दाबी गर्दै त्यसबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासप्रति आपत्ति जनाए।
विशेष महाधिवेशन प्रतिनिधिहरूको अधिकार र पार्टी विधानले दिएको व्यवस्थाअनुसार अघि बढेको विषय रहेको उनको भनाइ छ। उनले यसबारे निर्वाचन आयोगले गरेको निर्णय र सम्मानित अदालतले गरेको फैसलामाथि प्रश्न उठाउने प्रयास भइरहेको बताए।कांग्रेस यस विषयमा अदालतमा बहस गर्न र आफ्नो पक्ष राख्न तयार रहेको उनले स्पष्ट पारे।
‘नेपाली कांग्रेस पार्टी विधानको प्रक्रियाअनुसार विशेष महाधिवेशन सम्पन्न गर्न सफल भएको अवस्थामा छ। यो विषयमा नेपाली कांग्रेस पार्टी बारम्बार अदालतमा बहसमा पनि उभिएको छ। फेरि उभिने कुरामा हामी बिल्कुल तयार छौँ,’ शर्माले भने।
उनले कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा अनेक षड्यन्त्रको सामना गर्दै आएको उल्लेख गर्दै अहिले पनि अनर्गल तथा प्रायोजित प्रचारमार्फत पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको बताए।
प्रकाशित: १८ कार्तिक २०८३ १७:५२ बुधबार





