नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका आकांक्षीहरूको नाम केन्द्रमा पठाएको हो।
प्रत्यक्षतर्फ जिल्ला सभापति कर्णबहादुर शाही, निवर्तमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवालको नाम सिफारिस गरिएको छ।
पार्टी प्रवक्ता मेघराज गिरीका अनुसार आकांक्षीहरूबीच सर्वसम्मतिको प्रयास गर्दा पनि टुङ्गो नलागेपछि सबैको नाम समेटेर लामो सूची प्रदेश हुँदै केन्द्रमा पठाइएको हो।
यसैगरी, समानुपातिकतर्फ पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरीचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेक्लाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नत्रकला शाही, कर्णजंग हमाल, नविना केसी बडुवाल, जयलक्ष्मी आचार्य, लालबहादुर जिसी र रज्जब अलिमनिहारको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभातर्फ नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेतको नाम सिफारिस गरिएको छ।
पार्टीको आन्तरिक छलफल तथा मापदण्डअनुसार उम्मेदवारहरूको नाम तय गरिएको जिल्ला कार्यसमिति सदस्य महेन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार सिफारिस सूची केन्द्रमा पठाइसकिएको र उम्मेदवारको अन्तिम टुङ्गो भने पार्टीको केन्द्रीय तहबाट लाग्नेछ।
प्रकाशित: २९ मंसिर २०८२ १७:०० सोमबार





