नेपाली कांग्रेसको १५औं महाधिवेशन पूर्वर्निधारित मितिमा नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाएका छन्। उनीरूले धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलामार्फत यही पुस २७ र २८ गते विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपस्थित हल र चौर बुक गराएका छन्।
कांग्रेस केन्द्रीय समितिले मंसिर १५ गते पुस २६ देखि काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो। पूर्वर्निधारित कार्यतालका अनुसार सदस्यता वितरणदेखि तल्लो तहका अधिवेशन अघि बढ्न नसकेपछि तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको छ।
पार्टीले महाधिवेशनको नयाँ मिति पनि तोकेको छैन। महामन्त्रीद्वय थापा र शर्मासहितका नेताहरूले महाधिवेशनको नयाँ मिति नतोकिएको अवस्थामा विशेष महाधिवेशन नै अबको विकल्प भएको बताएका छन्। विशेष महाधिवेशन भए कांग्रेस फेरि विभाजन उन्मुख हुने नेताहरूको बुझाइ छ।
पार्टी विधानमा कुनै प्रयोजनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले वा केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्छ। महाधिवेशन प्रतिनिधिहरूले विधिवत विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र बैठक बोलाउनुपर्छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते विशेष महाधिवेशन माग गरिएको निवेदन केन्द्रीय कार्यालयमा दर्ता गराइएको थियो। ४९ दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा उक्त निवेदनमाथि छलफल भएन।
मंसिर १५ गते सम्पन्न बैठकले विशेष महाधिवेशनको निवदेनमा छलफल नगरी नियमित महाधिवेशन गर्ने निर्णसहित कार्यतालिका पारित गरेको थियो। महाधिवेशन मिति सँघारमा आइपुग्दा पनि क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन। यसैकारण तोकिएको समयमा नियमित महाधिवेशन नहुने निश्चित भएको हो। नियमित महाधिवेशन हुन नसक्ने भएपछि महामन्त्रीद्वयको अगुवाइमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न भृकुटीमण्डप बुक गरिएको हो।
भृकुटीमण्डपस्थित हल बुक गराउन गएका धादिङ कांग्रेसका पूर्वसभापति धमलाले पार्टी विधानको व्यवस्था कार्यान्वयन गर्नु सबै नेता तथा कार्यकर्ताको जिम्मेवारी रहेको बताए। विधानअनुसार विशेष महाधिवेशन गर्न भृकुटीमण्डप बुक गरेको जानकारी दिँदै उनले भने, ‘ भृकुटीमण्डप फेरि अरु कसैले अकुपाई गर्ला भनेर हामीले बुक गरेका छौं।’
उनले पार्टी सभापतिसहितका नेताहरू विधान कार्यान्वयनमा सहमत हुनुपर्ने उनले बताए। उनले शुक्रबार विशेष महाधिवेशनका लागि समितिहरू गठन गरिने जानकारी दिए।
संस्थापन पक्षका नेता भने महामन्त्रीद्वयसहित विशेष महाधिवेशन पक्षधरले नेतृत्वमाथि दबाब बढाउने रणनीति लिएको दाबी गर्छन्। विशेष महाधिवेशन मागसहितिको निवेदन केन्द्रीय कार्यालयमा दर्ता भए पनि केन्द्रीय समिति वा कार्यसम्पादन समितिको बैठकमा त्यसबारे छलफल भएको छैन।
महाधिवेशन वा विशेष महाधिवेशन जसलाई जतिबेला मनलाग्छ उतिबेला बोलाउने विषय नभएको बताउँदै संस्थापन पक्षका एक नेताले भने, ‘हस्ताक्षर सनाखत गर्नेसहितका विषय नै नभईकन विशेष महाधिवेशन बोलाउनु पार्टीलाई विभाजन गर्न खोज्नु हो। अहिलेको अप्ठेरो अवस्थामा कांग्रेसका नेता तथा कार्यकर्ता विभाजन होइन एकताको पक्षमा छन्।’
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक सूची महामन्त्रीहरूको समेत सहमतिमा निर्वाचन आयोगमा बुझाइएको दाबी ती नेताले गरे।
आफ्नो अजेन्डा स्थापित गर्ने नाममा पार्टीलाई विभाजनतर्फ लैजानु वा विवाद सिर्जना गर्नु गलत भएको बताउँदै ती नेताले भने, ‘महाधिवेशन नयाँ मिति तय गर्न उहाँहरूले सभापतिसहितका नेतालाई दबाब बढाउन खोज्नुभएको होला। पार्टी विभाजनको पक्षमा महामन्त्रीहरू हुनुहुन्छ जस्तो लाग्दैन।’
यसैबिच महामन्त्रीद्वय थापा र शर्माले पुस २६ देखि २८ गतेका लागि निर्धारित १५औं महाधिवेशन स्थगित भएको जनाएका छन्। थापा र शर्माका नामबाट बिहीबार साँझ जारी संयुक्त वक्तव्यमा नियमति महाधिवेशन गर्न सक्ने अवस्था नरहेकाले स्थगित गरिएको र त्यसको विकल्प विशेष महाधिवेशन भएको उल्लेख गरिएको छ।
यस विषयमा कांग्रेस केन्द्रीय कार्यालयबाट कुनै जानकारी गराइएको छैन। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफूले महामन्त्रीहरूले विज्ञप्ति जारी गरेको सुने पनि जानकारी नभएको बताए।
महामन्त्रीद्वयले नियमित महाधिवेशनको कार्य लक्ष्यअनुसार नभएकाले स्थगित गर्नुपर्ने अवस्थामा पुगेको जनाउँदै भनेका छन्, ‘पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएका कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ।’
उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन भएको तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको जनाएका छन्।
यसैबिच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार ३ बजेका लागि डाकिएको छ।
प्रकाशित: १८ पुस २०८२ ०७:०० शुक्रबार





