१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा किचलो: पुसमा मिति वैशाखमा महाधिवेशन

नेपाली कांग्रेसको १५औं महाधिवेशनको मितिका विषयमा नेताहरू बिच सहमति जुट्न नसक्दा जारी केन्द्रीय समितिको बैठक प्रभावित भएको छ । 

असोज २८ मा सुरु केन्द्रीय समिति बैठक सहमतिका लागि पटक पटक स्थगित गरिएको छ । तर, नेताहरू सहमतिमा पुग्नुभन्दा विवाद थप पेचिलो बन्दै गएको छ । पार्टी महामन्त्री गगनकुमार थापा मंसिरमा नियमित महाधिवेशन सम्भव नभएको जनाउँदै त्यसभित्र कुनै पनि अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

मंसिरभित्रै नियमित महाधिवेशन गर्नेगरी कार्यतालिकासहितको प्रस्ताव विशेष महाधिवेशनको मिति केन्द्रीय समितिको बैठकमा पेस गर्ने तयारीमा छन् । तर, पार्टीका बहुसंख्यक नेताहरू विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।  

त्यतिमात्र होइन महामन्त्रीहरूले नियमित महाधिवेशनको तयारी नगरेकै कारण मंसिरमा नियमित महाधिवेशन सम्भव नरहेको उनीहरूको बुझाइ छ । साथै महाधिवेशनका लागि आवश्यक तयारीलाई तीब्र बनाउँदै फागुन २१ गतेको निर्वाचन तयारीमा जुट्नु पर्ने र त्यसपछि पार्टीको १५औं महाधिवेशनको पक्षमा संस्थापन पक्षका नेताहरू देखिएका छन् ।

नेता शेखर कोइरालासहितका नेताहरू मंसिर वा पुसमा महाधिवेशन गर्नेगरी कार्यतालिकासहित तयारी गर्नुपर्ने पक्षमा छन् । यदि गर्दा गर्दै महाधिवेशन सम्भव भएन भने निर्वाचनपछि पनि महाधिवेशन गर्न उनीहरू लचिलो देखिएका छन् । जबकी कोइरालासहितका नेताहरूले एक वर्षअघि देखि नै नियमित महाधिवेशन गर्ने गरी तयारी नभएको भन्दै केन्द्रीय समितिमा असन्तुष्टि जनाउँदै आएका थिए । केही समय अघिसम्म मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका शेखर पक्ष पार्टीभित्रको विवाद पेचिलो बन्दै गएपछि सहमतिका लागि केही लचिलो देखिएका छन् ।

तर, महामन्त्री थापा मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको पक्षमा उभिंदै आएका छन् । त्यसका लागि केन्द्रीय समिति तयार नभएपछि थापाले बैठक नै बहिस्कार गर्दै आएका छन् । मंसिरमा नियमित महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा थापालाई साथ दिंदै आएका अर्का विश्वप्रकाश शर्माले पुस दोस्रो साता महाधिवेशनको प्रस्ताव गरेका थिए । तर, त्यसमा पनि सहमति जुट्न नसकेपछि उनले महासमिति सदस्यसँग राय लिगेर अहिलेको विवादको निरुपण गर्नुपर्ने अर्को प्रस्ताव गरेका छन् । त्यसका लागि कांग्रेस नेताहरू तयार देखिएका छैनन् ।

पार्टी विधान अनुसार महाधिवेशन हुने वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ । तर, १४औं महाधिवेशन भएको चार वर्षमा एक पटक मात्र कांग्रेसले महासमिति बैठक बेलाएको छ । २०८० फागुनमा महासमिति बैठक गरेको कांग्रेसले त्यसले गरेका निर्णय कार्यान्वयनमा समेत लगेको छैन । आफ्नो अनुकुता भएसम्म केन्द्रीय नेताहरूले महासमिति सदस्यहरूको अबमुल्यन गरेको र अफ्ठेरोमा आफुहरूलाई खोज्ने र विवादमा तान्न खोजिएको कतिपयको बुझाइ रहेको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मंसिरमा नियमित नभए विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । त्यसको निर्णय लिन महासमिति सदस्यहरूको राय लिने शर्माले प्रस्ताव गरेका हुन् । तर, त्यसमा सहमति जुट्न नसक्दा कांग्रेसभित्र मंसिरमा विशेष महाधिवेशन वा चुनाव अघि कि पछि नियमित महाधिवेशनका लागि आआफ्ना प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने महामन्त्री र सहमहामन्त्रीहरूले तयारी गरेका छन् ।

त्यतिमात्र होइन विशेष महाधिवेशन पक्षधरले मंगलबार पार्टीमा दवाव बढाउन भेला नै बोलाएको छ । पार्टीभित्रको एउटा समुहका युवाहरूले पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । विवाद पेचिलो बन्दै गर्दै सहमतिको साझा उपाय खोज्न पदाधिकारी तथा पूर्व पदाधिकारी असफल हुँदा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा दुबै पक्षले आआफ्नो तयारीलाई तीब्र बनाएका छन् । सोही अनुसार आइतबारका लागि स्थगित केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि सारिएको छ ।

मंगलबार वा अब बस्ने केन्द्रीय समिति बैठकमा पुसमा १५औं महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने तयारी भएको छ । माघ राष्ट्रियसभाको निर्वाचन फागुन २१गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको जनाउँदै क्रियाशिल सदस्यतासहितका विषय यथावत रहेकाले उक्त मितिमा महाधिवेशन सम्भव छैन । नहुने मितिको प्रस्ताव गरेर मात्र केही नहुने जनाउँदै त्यसपछि वैशाख वा जेठका लागि महाधिवेशनको मिति सर्ने र सोही बेला महाधिवेशन हुने कांग्रेस नेताहरूको दाबी छ । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशनका विषयमा देखिएको बिमतिले पार्टीलाई हित नगरेको बताए । पार्टीका नेता तथा कार्यकर्तालाई मात्र नभएर सिंगो देशले नै कांग्रेसभित्रको बृहत एकता चाहेको जनाउँदै उनले भने,‘अहिलेको विवाद र बिमतिले बरु पुरानै नेतहरू ठिक भन्ने अवस्थामा नेता तथा कार्यकर्ता पुग्ने देखियो ।’

प्रकाशित: १६ कार्तिक २०८२ २१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App