१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

तीन चिरामा कांग्रेस

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस तीन चिरा परेको छ। बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया सुरु भएको कांग्रेस आठ दशक पार गर्दा तीन धारमा विभाजित भएको हो।

तीन धारमा विभाजित कांग्रेस नेताहरूले पार्टीको झन्डा र चुनाव चिह्न एउटै दाबी गरे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको गगनकुमार थापा पक्षले आइतबारदेखि १५औं महाधिवेशन गर्दै छ। विशेष महाधिवेशनलाई अस्वीकार गर्दै थापा नेतृत्वको कार्यसमितिविरुद्ध सर्वोच्च अदालत पुगेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बिहीबारबाट वडा तहको अधिवेशन सुरु गरेको छ।

पार्टीको १५औं महाधिवेशनअन्र्तगत वडा अधिवेशन सुरु गरेको जानकारी देउवा पक्षले निर्वाचन आयोगलाई पनि गराएको छ। जबकि निर्वाचन आयोगले विगतमै थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिइसकेको छ।

थापा र देउवा दुवै पक्ष महाधिवेशनमा जुटे पनि शेखर कोइराला र उनीनिकट नेताहरू भने कुनै पनि महाधिवेशनमा सहभागी भएका छैनन्। पार्टीभित्रको बृहत् एकताको पक्षमा आफूहरू रहेको भन्दै शेखर र उनीनिकट केही नेताले दुवै महाधिवेशनमा सहभागी नहुने बताएका छन्। तर विगतमा शेखरनजिक मानिएका धेरै नेता तथा कार्यकर्ता थापा नेतृत्वको संस्थापन र देउवा नेतृत्वको इतर पक्षमा बाँडिएका छन्।

नेताहरूले आफूहरू चार तारे झन्डा र रूखको छाहारीमा गोलबद्ध भएको दाबी गरे पनि १५औं महाधिवेशनको प्रक्रिया अलगअलगत सुरु भएसँगै कांग्रेस स्पष्ट तीन चिरा परेको छ। संस्थापन पक्षले असोज ३ गते सुरु गरेको वडा अधिवेशनमा इतर पक्षका नेताहरू सहभागी भएका थिएनन्। इतर पक्षले बिहीबार वडा अधिवेशन सुरु गरेसँगै कांग्रेस व्यावहारिक रूपमा विभाजित हुन पुगेको छ। सर्वोच्च अदालतमा आधिकारिकता विवादको मुद्दा टुंगो नलाग्दासम्म कांग्रेस औपचारिक रूपमा विभाजन भने हुने छैन।

राणाशासन विरुद्धको आन्दोलनको आह्वानसँगै गठन भएका नेपाली प्रजातन्त्र कांग्रेस (नेप्रका) र नेपाली राष्ट्रिय कांग्रेस (नेराका) कोइराला समूह दुवैका अध्यक्षले २००६ चैत १४ गते संस्था एकीकरणको आवश्यता देखाउँदै वक्तव्य सार्वजनिक गरेका थिए। त्यसपछि २००६ चैत २७ गते कोलकातामा दुवै पक्षको सहभागितामा भएको सम्मेलनबाट नेपाली कांग्रेस स्थापना भएको हो।

सोही कांग्रेसको अगुवाइमा भएको आन्दोलनमार्फत १०४ वर्ष लामो राणाशासन र २४० वर्ष लामो राजतन्त्र सधैंका लागि अन्त्य भएको थियो। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा कांग्रेसले नै अगुवाइ गरेको थियो।

२०८२ भदौमा भएको जेनजी विद्रोहसँगै सत्ता र शक्तिबाट पाखा परेको कांग्रेस घरझगडामा रुमलिँदै असोजसम्म आइपुग्दा विभाजित भएको हो। हुन त पार्टी स्थापनाको आठ दशकमा कांग्रेस यसअघि दुई पटक विभाजित भइसकेको छ। २००९ सालमा पहिलो पटक र २०५९ सालमा दोस्रो पटक कांग्रेस विभाजित भएको थियो। स्थापनाको छोटो समयमै २००९ सालमा पहिलो पटक कांग्रेस विभाजित हुन पुगेको थियो।

२००७ सालमा प्रजातन्त्र स्थापनापछि २००९ सालमा मातृकाप्रसाद कोइराला र बिपी कोइरालाबिच सरकारलाई लिएर विवाद भएको थियो। त्यसलाई लिएर नै कांग्रेस विभाजित हुन पुगेको थियो। २०५९ सालमा तत्कालीन माओवादीले सञ्चालन गरेको हिंसात्मक आन्दोलनविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने विवादमा कांग्रेस फुटेको थियो।

पार्टी केन्द्रीय समितिले संकटकाल थप नगर्ने निर्णय गरेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट संकटकाल थप गरेका थिए। पार्टी निर्णयविपरीत संकटकाल थप गरेपछि देउवामाथि अनुशासनको कारबाही भएको थियो। त्यससँगै देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। २०६४ असोजमा देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेसबिच एकीकरण भएको थियो।

हुन त बिपी कोइरालाले २००३ असोज १८ गते संगठित हुन आह्वान गर्नुभन्दा पहिले नै १९९७ मै राणा शासन अन्त्यका लागि टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजापरिषद् नामक राजनीतिक दल स्थापना भइसकेको थियो।

कोलकाताको भवानीपुरमा २००३ साल माघ १२ र १३ गते अधिवेशन भएको नेपाली प्रजातन्त्र कांग्रेस (नेप्रका) र २००४ सालमा देवीप्रसाद सापकोटाको सभापतित्वमा नेपाली राष्ट्रिय कांग्रेस (नेराका) को प्रथम वार्षिकोत्सव काशीमा भयो। त्यसले डिल्लीरमण रेग्मीलाई एक वर्षका लागि अध्यक्ष छनोट गरेको थियो। यी दुई पार्टी एकीकरण गरेर २००६ सालमा नेपाली कांग्रेस गठन भएको हो।

प्रकाशित: १६ आश्विन २०८३ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App