१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

वैशाखमा महाधिवेशनको पक्षमा कांग्रेसको संस्थापन

निर्वाचनमा जुट्ने, कार्य तालिका ल्याउने

नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूले मंसिरमा पार्टीको १५ औं महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन्।

उपत्यकामा रहेका देउवा निकट नेताहरूको मंगलबार दिउँसो ललितपुरमा भएको छलफलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने ठहर गरेको हो।

पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन आम नागरिक र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचनका विषयमा कांग्रेस निर्णयको प्रतीक्षामा रहेको जनाउँदै छलफलमा सहभागी एक नेताले भने, ‘निर्वाचनमा जुट्ने निर्णय बैठकबाट गर्ने समझदारी बनेको छ।’

साथै, पार्टीको नियमित महाधिवेशन गर्ने विषयमा हस्ताक्षर गर्ने वा नगर्ने कसैको पनि विमति र विवाद नरहेको उनीहरूको निष्कर्ष छ।

तर, महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मात्र विमति रहेको जनाउँदै ती नेताले भने, ‘आगामी वैशाख वा जेठमा महाधिवेशन गर्नेगरी अहिलेकै बैठकबाट कार्य तालिका ल्याउनु पर्दछ।’

त्यसका लागि पार्टीभित्रको सबै पक्षको समझदारी खोज्ने र निर्णयमा पुग्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए। त्यसका लागि कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै अन्य नेताहरूसँग थप छलफल गर्न पनि उनीहरूले भनेका छन्। साथै अन्य नेताहरूले पनि आ-आफ्नो ठाउँबाट छलफल अघि बढाउने समझदारी गरेका छन्।

भदौ २३ गतेअघि नै १५औं महाधिवेशनमा सहकार्य गर्ने जनाउँदै लन्चमिटिङ सुरु गरेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छेदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शशाङ्क कोइरालाका साथै पूर्व सहमहामन्त्री प्रकाशशरण महतसहितका नेता एक ठाउँमा थिए।

तर, अहिले परिस्थिति फेरिएको जनाउँदै उनीहरूले पनि छलफलको दायरा फराकिलो बनाएर छलफल सुरु गरेका हुन्। मंगलबारको छलफलमा कार्यवाहक सभापति खड्काका साथै नेताहरू प्रकशमान सिंह, रमेश लेखक, सुरेन्द्रराज पाण्डे, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशाङ्क कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउँद, बालकृष्ण खाँण, महेन्द्र यादव, उमाकान्त चौधरी, नारायण खड्का, कृष्ण यादव, इन्द्र बहादुर बानियाँसहित डेढ दर्जन नेताहरू सहभागी थिए।

प्रकाशित: ११ कार्तिक २०८२ २१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App