नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमिति सभापतिहरूलाई उपस्थित हुन भनिएको छ। कांग्रेसको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि वा विशेष महाधिवेशन भन्नेमा अझै सहमति जुट्न सकेको छैन।
कांग्रेसभित्र महाधिवेशनको विषयले परेको गाँठो फुकाउन विभिन्न तहका नेताहरूले सहमतिको प्रयास गरे पनि साझा विन्दु अझै फेला परेको छैन। सहमतिका लागि नेताहरूले पछिल्लो एक सातादेखि गरेको प्रयास निरर्थक बन्न पुगेको हो।
नेताहरू आआफ्नै अडानमा कायमै रहेका छन्। असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अघिल्लो बिहीबार सदस्यहरूले बोल्ने क्रम सकिएको थियो।
त्यसपछि सहमतिका लागि भन्दै केन्द्रीय समितिको बैठक आज (बिहीबार) दिउँसो २ बजेका लागि बोलाइएको थियो। तर, नेताहरू महाधिवेशनका विषयमा कुनै सहमतिमा अझै पुगेका छैनन्।
प्रकाशित: ४ मंसिर २०८२ ०९:१४ बिहीबार





