नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ। पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारीहरूको कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भएको छ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौँमा उपलब्ध पदाधिकारीलाई बैठकमा बोलाइएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श हुने उनले जानकारी दिए।
उपसभापति मधु आचार्यले पनि बैठकमा पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट प्रमुख विषय रहने बताएका छन्।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भए पनि पदाधिकारीहरूको कार्यविभाजन हुन सकेको छैन। जिम्मेवारी बाँडफाँटमा ढिलाइ भइरहेका बेला बोलाइएको बैठकलाई संगठनात्मक संरचना व्यवस्थित गर्ने दिशामा महत्त्वपूर्ण छलफलका रूपमा हेरिएको छ।
बैठकबाट पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँटको विषयले औपचारिक रूप लिने अपेक्षा गरिएको छ। साथै, बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति र भूमिकाबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।
प्रकाशित: १९ कार्तिक २०८३ १३:०४ बिहीबार





