४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नवलपरासी–१ बाट कांग्रेसका विनोद चौधरीको एकल नाम सिफारिस

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ। पार्टी केन्द्रको परिपत्रअनुसार क्षेत्रीय, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसका तर्फबाट चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।

लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट प्राप्त उम्मेदवार सिफारिसहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरे पनि नवलपरासी–१ को हकमा भने चौधरीको मात्र नाम सिफारिस गरिएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

उनका अनुसार जिल्ला कार्यसमितिबाट चौधरीसँगै विक्रम खनालको नाम पनि प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस भएको थियो। तर पार्टीको केन्द्रीय अनुशासन समितिबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेकाले खनालको नाम केन्द्रमा नपठाइएको उनले बताए। खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्रीसमेत थिए, जसबाट कारबाहीसँगै उनको जिम्मेवारी पनि खोसिएको थियो।

प्रदेश कार्यसमितिको निर्णयमा अनुशासन समितिबाट कारबाहीमा परेका व्यक्तिको नाम सिफारिस गर्न नमिल्ने स्पष्ट उल्लेख गर्दै खनालको नाम अस्वीकृत गरिएको जनाइएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विनोद चौधरी नवलपरासी–१ बाट कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए। यसपटक क्षेत्रीय समितिले चौधरीको एकल नाम सर्वसम्मत सिफारिस गर्न खोज्दा खनाल पक्षधर केही नेताहरूले चौधरीसँगै खनालको नाम पनि प्रस्ताव गरेका थिए।

क्षेत्रीय समितिको सिफारिस जिल्ला कार्यसमितिमार्फत प्रदेश कार्यसमितिमा पुगेको थियो। लुम्बिनी प्रदेश कार्यसमितिको उक्त बैठकमा पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीसहित प्रदेश र जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो।

 

प्रकाशित: ५ पुस २०८२ १९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App