नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई जिम्मेवारीबाट निलम्बन गरेको छ। केन्द्रीय अनुशासन समितिको बैठकले बाराका उपसभापति अमिरीलाल राउत (पाल) लाई सफाइ दिएको छ।
गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेका यादवले अनुशासन समितिलाई जवाफ नै नदिएपछि उनलाई जिल्ला सभापति पदबाट निलम्बन गरिएको हो।
यस्तै, अनुशासन समितिले सर्लाहीका तीनजना प्रदेश सभा सदस्यलाई सजग गराएको छ । निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सर्लाही क्षेत्र नंबर २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई समितिले भविष्यमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको हो।
समितिले क्षेत्र नंवर २ (१) का सकुन्ती देवी महरा, क्षेत्र नंबर २ (२) का कौशल किशोर राय र क्षेत्र नंबर २ (१) का जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।
प्रकाशित: २१ जेष्ठ २०८३ २१:०५ बिहीबार





