नेपाली कांग्रेसको पूर्वर्निधारित मितिमा १५औं महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउन थालेका छन्। ४९ दिन लम्बिएको केन्द्रीय समितिको बैठकले पुस २६ गतेदेखि काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो।
सर्वसम्मतिबाट पारित कार्यतालिकाको समयसीमा भेट्टाउन त्यतिबेला नै असम्भवप्रायः देखिएको थियो। तैपनि केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको प्रस्ताव एकमतले पारित भएको थियो।
महाधिवेशनको मिति सँघारमा आइपुग्दा भने त्यसको आधार क्रियाशील सदस्यता टुंगो लाग्ने त होइन, वितरण नै सकिएको छैन। पार्टी महामन्त्री थापाकै संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले काम नसकेको संकेत गर्दै प्रवक्ता प्रकाशशरण महतले महाधिवेशनको मिति केही सर्ने जानकारी बिहीबार नै दिइसकेका थिए।
पूर्वर्निधारित मितिमा महाधिवेशन हुँदैन भन्नेमा सबै आश्वस्तजस्तै थिए। केन्द्रीय समितिको बैठक सकिएकै दिन नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जाने जनाउ महामन्त्रीद्वयले दिएका थिए तर केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशन मागको निवेदनले केन्द्रीय समिति बैठकमा अजेन्डाका रूपमा अहिलेसम्म प्रवेश पाएको छैन।
विशेष महाधिवेशन माग गर्ने पक्षका केही नेताले शुक्रबार पार्टी कार्यालय पुगेर फेरि स्मरणपत्र बुझाएका छन्। उनीहरूले स्मरणपत्रमार्फत विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र गर्नैपर्ने बाध्यता रहेको बताएका छन्। स्मरणपत्रमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिइएको छ।
विशेष महाधिवेशन माग गर्नेमध्येका नेता देवराज चालिसेको अगुवाइमा केन्द्रीय कार्यालय सानेपा पुगेका नेताहरूले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरणपत्र बुझाएका हुन्। त्यसपछि महामन्त्री थापा पनि उपस्थित भएका थिए। महामन्त्री थापाले पक्षधरहरूको ज्ञापनपत्र बुझ्दै विशेष महाधिवेशन ऐच्छिक विषय नभएको दाबी गरे।
‘विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुँदा नै मंसिरभित्र नियमित महाधिवेशन गरे विशेषको प्रस्ताव स्वतः निष्क्रिय हुने भनिएको थियो,’ थापाले सञ्चारकर्मीसँग भने, ‘मंसिर मसान्तबाट हामी पुस मसान्तमा पुग्यौं तर पनि महाधिवेशनको सुनिश्चितता गर्न सकेनौं। यो ध्यानाकर्षणपत्र प्राप्त भएको छ। महामन्त्रीको बोधार्थ छ। अब यो हाम्रो जिम्मेवारी हो।’
केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक छाडेर विशेष महाधिवेशन पक्षधरको स्मरणपत्र बुझेर दुई महामन्त्रीसँगै निस्केको एक नेताले जानकारी दिए। महाधिवेशनसहित संगठन र कार्यालय सञ्चालन गर्ने मुख्य दायित्व पार्टीका महामन्त्रीहरूको भएको जनाउँदै ती नेताले भने, ‘विपक्षी दलका नेताले जस्तै आफैं माग अघि सार्ने र नेता–कार्यकर्तालाई उचाल्ने काम जिम्मेवारीमा रहेका नेताले गर्ने होइन, समाधान दिने हो।’
प्रकाशित: १२ पुस २०८२ १०:२१ शनिबार





