नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कानुनी सहायता लिने भएको छ ।
कांग्रेसले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
नागरिकसँगको कुराकानीमा उनले भने, ‘हाम्रो पार्टीले यसअघि नै संसद पुनर्स्थापना गर्न जोडदार आवाज उठाउने निर्णय गरेको छ । सर्वोच्च अदालतले पनि न्यायीक निरोपर्ण गर्छ भन्ने कांग्रेस केन्द्रीय कमिटीले नै निष्कर्ष निकालेको छ । सोही निष्कर्षअनुसार कांग्रेसले यो विषय सर्वोच्च पुर्याउने भएको हो।’
केही सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च गएको बताए पनि कसकसको हस्ताक्षर भन्ने विषय घिमिरेले खुलाएनन् ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको पनि उनले जानकारी दिए । उनले भने, ‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौं।’
यसअघि नेकपा एमालेले पनि रिट निवेदन दिएको छ । निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनालाई पनि सँगसँगै लैजाने ठोस योजनासहित अदालत गएको घिमिरेले बताएका छन् ।
प्रकाशित: २१ मंसिर २०८२ १७:४० आइतबार





