नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन पुसको अन्तिम साता गर्ने गरी सहमतिको अन्तिम प्रयासमा जुटेका छन्। महामन्त्री गगनकुमार थापाले पुस १६ गते देखि १५औँ महाधिवेशन गर्ने गरी पेस गरेको कार्य तालिकामा संशोधन गरी अघि बढ्ने गरी निर्णयमा पुग्ने प्रयास थालिएको हो।
त्यसले विशेष महाधिवेशन पक्षधरको पनि माग सम्बोधन गर्ने जनाउँदै एक नेताले भने,‘गर्दा गर्दै भ्याइएन र निर्वाचन फागुन २१मै हुने भयो भने परिस्थिति हेरेर कार्य तालिका हेरफेर गर्न सकिन्छ। र, निर्वाचन भएन भने अधिवेशन प्रक्रिया सुरु गरेपछि फागुनसम्म केन्द्रीय महाधिवेशन गर्दा फरक पर्दैन।’
सोही अनुसार पुस मसान्तभित्र महाधिवेशन गर्ने कार्य तालिकासहित निर्णयमा पुग्ने गरी समझदारीको अन्तिम प्रयास भइरहेको निकट स्रोतको दाबी छ। महाधिवेशन मितिमा सहमति जुटे असोज २८ गतेदेखि सुरु भएको बैठक शनिवार नै सकिनेछ
महाधिवेशनमा सहमति जुट्न नसके शनिवार १ बजेका लागि सारिएको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको निर्णय हुनेछ। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस ७ गतेभित्र दल दर्ता गर्न समय सीमा तोकेको छ।
त्यस्तै बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय कांग्रेसले लिनेछ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने कांग्रेसले संसद् पुनर्स्थापनाको विषय न्याय निरूपण प्रक्रियामा रहेको जनाउँदै सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निष्कर्ष बैठकले निकाल्ने निकट स्रोतको दाबी छ । भदौ २४ गतेपछि फेरिएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न असोज २८ देखि सुरु कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि वा विशेष महाधिवेशन भन्नेमा विवादमा रुमलिन पुगेको छ । त्यसमा सहमति जुट्न नसक्दा बैठक एक सातादेखि सूचनामार्फत सर्दै आएको छ ।
पार्टीका संस्थापन पक्षका नेताहरूले फागुन २१ को निर्वाचनलाई केन्द्रमा राखेर वैशाखमा १५औँ महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू अविलम्ब नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । नेता शेखर कोइरालासहितका नेताहरू पुस अन्तिममा नियमित महाधिवेशनको पक्षमा छन् ।
महाधिवेशनको मिति विवाद सहमतिमा सल्टाउन शुक्रवार पनि कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, महामन्त्री द्वय थापा र शर्मासहितका नेताहरू दुई पक्ष र बहुपक्षीय छलफलमा जुटेका छन्।
प्रकाशित: ५ मंसिर २०८२ १९:२३ शुक्रबार





