काठमाडौं महानगरपालिकाकी कार्यकारी मेयर सुनिता डंगोलले प्रधानमन्त्री नियुक्त भएकोमा महानगरका निवर्तमान मेयर बालेन्द्र शाहलाई बधाई दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिँदै आगामी दिनको सहकार्य मजबुद हुने विश्वास व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्, ‘प्रधानमन्त्रीजस्तो गरिमामय जिम्मेवारी पाउनुभएको छ । तपाईंको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र मेरो व्यक्तिगततर्फबाट पनि बधाई ।’
आगामी दिनमा सहकार्य गर्ने उल्लेख गर्दै डंगोल लेख्छिन्, ‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । मलाई आशा छ, राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईँको नेतृत्वको सरकारले काम गर्ने छ ।’
उनले जनताको सपना पूरा गर्न सफल बन्ने विश्वास पनि लिएकी छन् । भनेकी छन्, ‘तपाईँ र तपाईँको नेतृत्वको नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने छ भन्ने मैले आशा लिएको छु । तपाईँको कार्यकाल सफलताको शुभकामना ।’
प्रकाशित: १३ चैत्र २०८२ १६:२३ शुक्रबार





