नेपाली कांग्रेसका पुराना नेता बलदेव शर्मा मजगैयाँले अहिले मुलुकको अवस्था २०३३ सालको भन्दा पनि बढी जोखिमपूर्ण रहेको बताएका छन्। डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ नामक पुस्तकको घोराहीमा विमोचन गर्दै पूर्वमन्त्री तथा साहित्यकार मजगैयाँले यस्तो बताएका हुन्।
मजगैयाँले देशको अस्तित्वमाथि नै संकट आउँदा बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पनि सम्झना गरे।
‘अहिलेको अवस्था त्यो भन्दा झन् जटिल र खतरनाक छ,’ मजगैयाँले भने, ‘तर हाम्रो नेतृत्वसँग देश कसरी सम्हाल्ने चेतना छैन।’
सन् १९७५ मा सिक्किम भारतमा विलय भएपछि भारत निर्वासनमा रहेका बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए। त्यसबेला मजगैयाँ पनि बिपीसँगै भारतमै थिए।
मजगैयाँले जेन–जी आन्दोलनमा भएको घुसपैठलाई २०४२ सालको सत्याग्रहको घटनासँग जोडेर हेर्नुपर्ने बताए। ‘यो आन्दोलनको उद्देश्य र घटनाक्रम, विशेषगरी हिंसात्मक गतिविधि हुँदा मलाई ०४२ सालको सत्याग्रह सम्झना आयो। नेपाली कांग्रेसले सत्याग्रह सुरु गर्दा पनि यस्तै चुनौतीहरू आएका थिए,’ उनले भने।

कुनै पनि आन्दोलनमा घुसपैठ हुनसक्ने सम्भावना जहिल्यै रहने उनले बताए। मजगैयाँले अगाडि भने, ‘कुनै पनि आन्दोलनमा घुसपैठ हुन सक्छ। ठुलो विद्रोह भएमा त त्यो सम्भावना अझ बढ्छ।’
त्यो बेला कांग्रेसले सत्याग्रहका क्रममा जहाँसुकैबाट पनि हिंसा भए सत्याग्रह स्वतः स्थगित हुने भनेर निर्णय गरेको पनि उनले सम्झना गरे। ‘सत्याग्रहमा सहभागी नभएका, भूमिगत रहेका रामराजा प्रसाद सिंहले बम काण्ड गरे,’ मजगैयाँले भने, ‘हामीलाई समेत फसाउन खोजियो र काँग्रेसले नै गरेको भनेर आरोप लगाइयो।’ तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले त्यो हिंसात्मक घटनामा कांग्रेसको हात नरहेको स्पष्ट पारिदिएपछि आफूहरू बाँचेको उनले टिप्पणी गरे।
मजगैयाँले गत भदौ २३, २४ गतेको घटनाक्रममा कसैले नैतिक जिम्मेवारी नलिएकोमा चिन्ता व्यक्त गरे। ‘अहिले मुलुकमा नैतिकताको खडेरी छ। पहिले न्याय हराए गोर्खा जानु भन्ने उखान थियो, तर नैतिकता हराए कहाँ जाने भन्ने उखान छैन,’ उनले भने।
मजगैयाँले अहिले सबैजसो राजनीतिक दलहरू आन्तरिक संघर्षमा फसेको बताउँदै केही पार्टी फुट्नसक्ने सम्भावना पनि रहेको बताए। ‘नेताहरूले जिम्मेवारी नलिएका खण्डमा र राष्ट्रिय एकताको लागि पहल नगरेमा भोलि फेरि अर्को द्वन्द्व वा विद्रोह हुनसक्छ। धेरै सम्भावना छ, र त्यसपछि देश जोगाउन सकिँदैन,’ मजगैयाँले भने।
देश जोगाउन सबै पार्टी, नेताहरू, राष्ट्रभक्त तथा आन्दोलनकारी जेन–जीहरूले आत्मसमीक्षा गरेर राष्ट्रिय एकताका लागि गम्भीर बन्नुपर्ने बेला आएको पनि मजगैयाँले बताए।
प्रकाशित: ७ कार्तिक २०८२ १४:५८ शुक्रबार





