नेकपाका सहसंयोजक माधव कुमार नेपाल ले भावनात्मक अभिव्यक्तिले मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।
जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका कमजोरी र विसङ्गतिमाथि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।
उनले विगतका अनुभवबाट सिक्दै सबै कम्युनिस्ट घटकहरूले आफ्ना पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्नुपर्ने धारणा राखे। सही निष्कर्षमा पुग्न सके मात्र कम्युनिस्ट शक्तिहरूलाई साझा बिन्दुमा ल्याउन सकिने उनको भनाइ थियो।
नेपालले एकताका लागि भावनाभन्दा व्यवहार र सोचको एकरूपता आवश्यक हुने उल्लेख गर्दै पहिले मन मिल्नुपर्ने बताए। उनले जननेता मदन भण्डारीको भनाइ स्मरण गर्दै केवल कुराले परिवर्तन सम्भव नहुने र व्यवहारिक आधार, स्पष्ट दृष्टिकोण तथा साझा सहमतिका आधारमा मात्रै एकता अगाडि बढ्न सक्ने धारणा व्यक्त गरे।
उनका अनुसार वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै व्यापक छलफल र बहसमार्फत मिल्न सकिने विषयमा सहमति खोज्नुपर्ने आवश्यकता छ। उनले तत्कालै कम्युनिस्ट पार्टीहरूबीच एकता हुने सम्भावना भने कमजोर देखिएको बताए।
प्रकाशित: १४ असार २०८३ १५:४४ आइतबार





